काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ८० बढी निकायले सेवा दिने गर्दछन् । जसमा सरकारी निकायसँगै निजी कम्पनीहरूसमेत छन् । विमानस्थलमा ‘ओभरसाइट एजेन्सी’कै कारण गन्जागोलको अवस्था सिर्जना हुनुका साथै एउटै निकायका पनि फरक फरक युनिट राख्नु पर्दा विमानस्थलमा भिडभडाकासमेत बढ्ने गरेको छ ।
विमानस्थलमा अध्यागमन, नेपाल प्रहरी, विशेष प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी, सशस्त्र प्रहरी, भन्सार, पारवहन तथा गोदाम, विभिन्न एयरलाइन्स कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, होटेल लाउन्ज, हेल्थ डेस्क, हुलाक लगायत विभिन्न निकाय र तिनका युनिटहरूले सेवा दिने गर्दछन् । त्यसो त प्रहरीकै ५/६ वटा युनिट विमान स्थलमा खटिएका छन् ।
अर्कोतर्फ प्रविधिको प्रयोग गरेर मानिसको उपस्थित कम गराउनेतर्फ ध्यान जान सकेको छैन । भएका एक्सरे र सुरक्षा जाँच गर्ने मेसिन पनि प्रयोगमा आउन सकेका छैनन् । मानिसले हातले नै छामेर चेकजाँच गर्नुपर्ने अवस्था छ । प्रविधिको प्रयोगलाई प्राथमिकता नदिँदा मेसिनले कन्ट्रोल गर्नुपर्नेमा हातले नै छामेर गरिने चेकजाँचले राम्रो सन्देश नदिएको कर्मचारी बताउँछन् ।
कर्मचारी धेरै भएकै कारण एकले अर्कोलाई नचिन्ने अवस्था छ । त्यही भद्रगोलबाट तस्कर र बिचौलियाले फाइदा उठाउँदै आएका छन् । विमानस्थल निकाय गर्ने निकायको अभाव छ । चेनअप कमाण्ड नहुँदा एउटा निकायले अर्को निकायलाई दोष देखाएर पन्छिने गर्दछन् । एउटा एजेन्सीले अर्को एजेन्सीलाई नटेर्ने प्रवृत्ति छ ।
आगमनको इमिग्रेसनमा कर्मचारी नबस्दा समस्या हुने गरेको सेवाग्राही बताउँछन् । तर, प्रस्थानको इमिग्रेसनमा चलखेल गर्न पाउने भएकाले कर्मचारी बस्न रुचाउँछन् । भन्सारका कर्मचारीहरूले पनि सेवाग्राहीलाई दुःख दिने नियत राखेको पाइन्छ । सानो कुरामा पनि चिट काटेर दुःख दिने गरेको सेवाग्राहीको गुनासो छ ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ सय ८० बढी निकायका ५ हजार बढी कर्मचारीहरूले विमानस्थलमा सेवा दिने गर्दछन् । उनका अनुसार तीन सिफ्टमा सेवा सञ्चालन हुने भएकाले एउटै सिफ्टमा एक हजार पाँच सय बढी कर्मचारीहरू खटिने गर्दछन् । तीन सिफ्टमा काम गर्नु पर्ने भएकाले एउटै कामको लागि तीन जना कर्मचारी चाहिने उनको भनाई छ ।

झा भन्छन्, ‘एजेन्सीहरू धेरै छन् । यो थेग्नै पर्ने छ । कुनै बेला त्यसैले सजिलो बनाउँछ, कुनैले त्यसैले असजिलो बनाउँछ । भिडभाड पनि हुने नै भयो ।’ विमानस्थलमा सबै निकायको आवश्यकता रहेको झाको दाबी छ । उनी भन्छन्, ‘सुरक्षामा कम्प्रमाइज गर्ने कुरा भएन ।’
विमानस्थलमा चेनअप कमाण्ड कायम हुन सके सेवा प्रवाह थप प्रभावकारी हुने प्रवक्ता झाले बताए ।
विमानस्थलमा दैनिक ३० हजार बढी यात्रुको आवत जावत हुने गर्दछ । यात्रु संख्या बढे पनि र विमानस्थलको विस्तार र प्रविधिको प्रयोगमा सरोकारवाला निकायको चासो गएको छैन ।

प्रविधिको प्रयोग गर्न सके मानिसको उपस्थिति कम गर्न सकिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुख डा.टोकराज पाण्डे बताउँछन् । प्रविधि र मेसिनको प्रयोगलाई प्राथमिकता दिएमा त्रुटिमा कमी आउने उनको भनाइ छ ।
पछिल्लो समय डा. पाण्डेको प्रयासमा केही भौतिक पूर्वाधार तथा कर्मचारी व्यवस्थापनमा सहजीकरण भएको कार्यरत कर्मचारीहरूको भनाई छ । ‘प्रमुखको सक्रियता आफैमा सकारात्मक सन्देश दिने रहेछ’, आवश्यक सहजीकरणका लागि कर्मचारीको डेस्क डेस्कमा पुगेर बुझ्दै गरेका प्रमुख पाण्डेलाई देखाउँदै एक कर्मचारीले भने, ‘उपलब्ध स्रोत साधन र जनशक्तिले म्याक्सिमम गर्न सक्ने जति काम भएको छ’
त्रिभुवन विमानस्थलसँगै स्थापना भएका विश्वका अन्य मुलुकका विमानस्थलहरू पूर्ण सुविधा सम्पन्न भइ सके तर त्रिभुवन विमानस्थल भने उही ‘गौचर’मै सीमित छ । अझै ‘छामछाम’ र ‘छुमछुम’मै रमाइरहेको छ । सेवा दिने कर्मचारी ‘जी हजुरी’ नै खोजिरहेका छन् ।
जबसम्म नीति निर्मातालाई सुधार्नु पर्छ भन्ने लाग्दैन र नेतृत्व तहबाट इच्छाशक्ति जागृत हुँदैन, तबसम्म यसैगरी चलिरहने छ नेपालको अन्तराष्ट्रिय विमानस्थल ।