गाउँमै योजना सम्झौता « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गाउँमै योजना सम्झौता


३ पुस २०८०, मंगलबार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी वडामै पुग्न थालेका हुन् ।

वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण-८ राम्चेको देउराली आधारभूत विद्यालयको भवन निर्माण समितिका अध्यक्ष फासबहादुर गर्बुजाले बताए ।

“हाम्रो वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गर्न र घर फर्कन रु. १४ हजार गाडीभाडा र कम्तीमा पूरै दिन लाग्ने गरेको थियो,” उनले भने “वडामै योजना सम्झौता गर्न पाउँदा गाउँ गाउँमा सिंहदरबार आएको महसुस भयो ।”योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रूपमा व्यहोर्नुपर्छ । कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झञ्जट हुन्थ्यो ।

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरे बगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली राम्चे पुगेको थियो । आइतबार र सोमबार सञ्चालन भएको शिविरमा ८ योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए । विकट र दुर्गम क्षेत्रका उपभोक्ता समितिका पदाधिकारीलाई सहज भएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आठ वटै वडामा पुगेर योजना सम्झौता गरिने बताए ।

“सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्न थालेका हौँ,” उनले भने “योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापनसम्बन्धी तालिम पनि दिन्छौँ ।”वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिइने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताए । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब एक सय पचास वटा योजना कार्यान्वयन गर्दैछ ।

रु. तीन लाखभन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको छ । बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्यूनीकरण गर्न उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस