श्रीलंकाका विदेशमन्त्री भोलि काठमाडौँ आउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलंकाका विदेशमन्त्री भोलि काठमाडौँ आउँदै


३ पुस २०८०, मंगलबार


काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउने भएका छन् । उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन भोलि  काठमाडौँ आउन लागेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । ‘संयुक्त आयोगको उद्घाटन सत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपालको भ्रमणमा जान लागेका हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने श्रीलंकाली विदेश मन्त्रालयले जनाएको छ ।

बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम छ । श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । उनी तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस