गेटामा मेडिकल विश्वविद्यालय सफल हुँदैन : डा. गोविन्द केसी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गेटामा मेडिकल विश्वविद्यालय सफल हुँदैन : डा. गोविन्द केसी


२ पुस २०८०, सोमबार


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय उपयुक्त नहुने बताएका छन् ।

सोमबार धनगढीको कृष्णमन्दिर धर्मशालामा अनसन तोडेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिममा ३०० शय्याको अस्पताल र मेडिकल कलेज उपयुक्त हुने बताएका हुन् । विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने भनी सरकारले आफूसँग १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको केसीले बताए ।

केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयनलगायतका विभिन्न माग राखेर गत शुक्रबार गेटा अस्पतालमा अनसन बस्न खोज्दा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले अवरोध गरेको थियो । उक्त सङ्घर्ष समितिले गेटामा विश्वविद्यालय बनाउने माग राख्न केसीलाई आग्रह गर्दा नमानेकाले अनसन बस्न अवरोध गरेको बताएको थियो ।

सोमबार पत्रकार सम्मेलनमा केसीले मेडिकल शिक्षाका विषयमा राजनीतिक दलका नेता र स्थानीय कार्यकर्ता विज्ञ हुन नसक्ने बताए ।

विश्वविद्यालयका लागि पूर्वसम्भाव्यता अध्ययन गर्नुपर्ने, ठूलो लगानी र जनशक्ति चाहिने भएकाले तत्काल सम्भव नदेखिएको पनि केसीले बताए । आर्थिक सङ्कटको कारण देखाएर गेटामा सरकारले ३०० शय्याको अस्पताल पनि सञ्चालन नगरेको भन्दै केसीले मेडिकल विश्वविद्यालयका नाममा अलमल्याउन खोजेको बताएका छन् ।

केही निजी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय बनाउन राजनीतिक दलका नेताहरू इच्छुक देखिएको भन्दै केसीले त्यसले सुदूरका जनतालाई सहज स्वास्थ्य सेवा नदिने बताए ।

यदि विश्वविद्यालयको योजना सफल नभएमा सुदूरपश्चिमका सर्वसाधारणले दुख पाउने उनको भनाइ छ । विश्वविद्यालयको योजना फेल हुने भन्दै केसीले भने, ‘फेल भइसकेपछि कहाँ जाने, फेरि मेडिकल कलेजमा जाने, प्रतिष्ठानमा जाने, यो सुदूरपश्चिमका जनतालाई धोका हुन्छ, अस्पताल पनि सञ्चालन नगर्ने, सेवा नै नदिने मनसाय देखिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस