रुस र युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर : आयोग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुस र युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर : आयोग


१ पुस २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रुस र युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति निकालेर नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने जनाएको छ ।

‘रुस र युक्रेन बिच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैर कानुनी बाटो प्रयोग गरी रुसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट प्राप्त जानकारीप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत केही नेपालीको मृत्यु भएको, केही घाइते भई अस्पतालमा उपचाररत रहेका, केही नेपालीहरू विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ । घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैर कानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस