पल शाहविरुद्धको मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पल शाहविरुद्धको मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने


३० मंसिर २०८०, शनिबार


काठमाडौँ । अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको शुक्रबारको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो।

‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’ सर्वोच्च अदालतको आदेशमा उल्लेख छ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।

शाहले बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस