काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाइअन्तर्गत भर्खरै बहस सकिएको हो ।
खाँणलाई छाड्ने या थुनामै राख्नेबारे केही बेरमा आदेश आउनेछ ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।
उच्च अदालत नियमावली तथा ऐनबमोजिम तेस्रो न्यायाधीशको इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठिक भन्ने आदेश गरेपछि खाँणको हकमा टुङ्गो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।
तर, खरेलले उनको संलग्नता अरु सरह नै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि खाँणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको हो ।