मेयर महर्जनले भने-महानगरअगाडि उभिएर ईःले स्टन्टबाजी गरे « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मेयर महर्जनले भने-महानगरअगाडि उभिएर ईःले स्टन्टबाजी गरे


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गर्न उभिएर अभियन्ता ईःले स्टन्टबाजी गरेको मेयर चिरीबाबु महर्जनले बताएका छन्।

फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै मङ्गलवार दिउँसो ३ बजे प्रदर्शन गर्न महानगरअगाडि पुगेका ईःलाई इङ्गित गर्दै मेयर महर्जनले उक्त कुरा बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेर आज कार्यालयअगाडि अप्रत्याशित रूपमा स्टन्टबाजी गर्दै प्रदर्शन गरेको बताए । 

गत मङ्गलवार महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि लगनखेल फुटपाथ पसल निषेधित क्षेत्र हुने भनेको थियो। तर केही विरोधका स्वरहरू आएपछि ती समस्या कसरी सम्बोधन गर्ने भनी छलफल गरिरहेका बेला ईःले कुरा नबुझी विरोध गर्नु अपरिपक्व निर्णय भएको मेयर महर्जन बताए।

‘फुटपाथ व्यापारीलाई नगरपालिकाले प्रोत्साहन गरेको केही उदाहरण दिँदै उनले थपे, ‘पुलचोक, जावलाखेल, एकान्तकुना र लगनखेलका धेरै भागहरूमा फुटपाथ व्यापार गर्न दिइएको छ। पहिले त्यहाँ दिउँसो पनि व्यापार हुन्थ्यो। तर अहिले समय तोकेर व्यवस्थापन गरी गर्न दिएका छौँ।’

मेयर महर्जनका अनुसार काठमाडौँको फुटपाथ व्यापार बन्द गरेर व्यवस्थापन नगर्दा ललितपुरमा व्यापार गर्न आउनेको संख्या बढेको छ। यसको चाप मंगलबजारदेखि लगनखेलसम्म देखिएको उनले बताए।

मंगलबजारदेखि लगनखेल जाने ६०० मिटर बाटोको चौडाइ सानो छ। पाटन दरबार परिसर घुम्न आउने पर्यटकलाई समेत हिँड्न कठिन भइरहेको छ। त्यसैले सुधारको थालनी गरेको र फुटपाथ व्यवसाय शतप्रतिशत प्रतिबन्ध गर्न नखोजेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस