पहिचानवादी आन्दोलन : उत्तेजनामा होइन, औचित्य पुष्टि गर्नुपर्छ-ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पहिचानवादी आन्दोलन : उत्तेजनामा होइन, औचित्य पुष्टि गर्नुपर्छ-ओली


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाएका छन् । मध्यपहाडी यात्राको क्रममा ओखलढुङ्गाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्न सक्छ । त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’

उनले देश बनाउन बलियो राष्ट्रिय एकता, समझदारी चाहिने बताए । पहिचानवादीको आन्दोलनलाई लक्षित गर्दै उनले भने, ‘जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउनुपर्छ । राजनीतिक विचारमा मतभेद हुनसक्छ । ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन् । कानूनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा होइन । सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्छ । त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्छ । एमालेको त्यो नीति छ ।’

अध्यक्ष ओलीले देशको समस्या समाधान गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले मिसन २०८४ एमालेको लागि नभई देशको लागि भएको जिकिर गरेका छन् । उनले देशको हित, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने दाबी गरे ।

विकासको सन्दर्भमा उनले एयरपोर्ट, बाटोघाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम गरेको दाबी गरे । अहिले विकास निर्माण ठप्प भएको उनको जिकिर थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस