ढाकाका कपडाले पाएनन् बजार « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ढाकाका कपडाले पाएनन् बजार


२६ मंसिर २०८०, मंगलबार


तेह्रथुम। म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छन् ।

आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उनको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।

एउटा सारी बुनिसक्न उनलाई सातदेखि १० दिन लाग्छ । बाक्लो बुट्टा भएको सारी बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उनको भनाइ छ । बजारमा एउटा सारीको मूल्य रु. छ हजारदेखि १३ हजारसम्म पर्दछ । सामान्य लेखपढ गरेकी लिम्बूले ढाकाको सारी बुनेरै मासिक रु. २२ हजार नाफा निकाल्ने गरेको बताइन् । “सानो हुँदा पढिएन, अहिले यही सारी बुन्यो यसैले आमा छोराको गुजारा चलिरहेको छ”, लिम्बूले भनिन् ।

उनीजस्तै सोही टोलमा डेरा गरी बस्ने ३८ वर्षीया एकल महिला कुमारी राई पनि ढाकाको सारी बुनेरै गुजारा चलाउँदै आएकी छन् । सात वर्षयता श्रीमान् हराएपछि आठवर्षे छोरोको अभिभारा एक्लै उठाएकी उनले ढाकाको सारी बुनेरै कक्षा छोरोको पढाइ खर्च पुर्‍याएकी छन् । डेरा भाडा तिरी मासिक खर्च गरी मासिक रूपमा रु. पाँचदेखि १० हजारसम्म बचत गर्ने गरेको उनको भनाइ छ ।

सङ्खुवासभा मादी मूलखर्ककी उनले म्याङलुङ आएर नवीन विकास ढाका कपडा उद्योगमा ढाका बुन्न सिकेकी थिइन् । सुरुमा ढाकाको गलबन्दी ज्यालामा बुन्न सुरु गरीन् । त्यतिबेला आफूसँग पैसा नभएकाले ज्यालामै बन्नु परेको उनको भनाइ छ । “पछि तानका सामानहरू किनेर ल्याएपछि कोठामा आफैँ बुन्न थालेँ । आफैँले बुन्दा धेरै फाइदा हुने रहेछ”, उनले भनिन् ।

मेन्छ्यायेम गाउँपालिका–२ स्थायी घर भई म्याङलुङ क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीया सन्ध्या लिम्बू पनि बिहान क्याम्पस गएर दिउँसोको समयमा ढाकाको गलबन्दी बुन्ने गर्छीन् । गलबन्दी बुन्ने तान सानो हुने भएकाले कोठाको एक कुनामा सजिलै अट्छ । एक दिनमा एउटा गलबन्दी तयार हुने र यसमा रु. ८०÷९० को धागो लाग्ने उनी बताउछीन् । उनका अनुसार बजारमा एउटा गलबन्दी रु. दुई सयमा बिक्री हुन्छ । शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी उनले पढेर बचेको समयमा गलबन्दी बुन्ने गरेको र आफूलाई खर्च चलाउन घरमा पैसा माग्नु नपरेको बताउछीन् ।

उनीजस्तै अर्की सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत सोनी लिम्बू पनि स्थानीय रेडियो मेन्छ्यायेममा प्राविधिकको काम गर्दै ढाकाको कोट, मेख्लीको कपडा बुन्ने गर्छीन् । प्रतिमिटर रु आठ सयको दरले कोटको कपडा बिक्री गर्ने गरेको र त्यसले आफूलाई खर्च पुगेको उनको भनाइ छ ।

म्याङलुङबजार र आसपासका गाउँका अधिकांशको आयआर्जनको माध्यम बनेको छ ढाका कपडा बुनाइ । ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको म्याङलुङ बजारका अधिकांश घर, बजार छेउका तम्फुला, शाब्ला, तुम्बाहाङ्फे गाउँका प्रत्येक घरहरुका कोठा, सिकुवा, बार्दली, आँगनहरुमा ढाकाका तानहरु देखिन्छन् । पेसाकै रूपमा होस् या अन्य काम गरेर फुर्सदको समयमा यहाँका अधिकांश महिलाले ढाकाको टाई, टोपी, गलबन्दी, कुर्ता सुरुवाल, लुङ्गी, सारी बुनेर बजारमा बिक्री गर्ने गर्छन् ।

म्याङलुङ बजारको टुँडिखेलमा यसै वर्ष ढाका बुन्दै गरेको महिलाको स्तम्भ निर्माण गरिएको छ । तेह्रथुमका ढाका बुन्नेहरूको सम्मानस्वरुप र तेह्रथुमको ढाकाको पहिचान झल्काउने उद्देश्यले प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको रु.१० लाखमा स्तम्भ निर्माण गरेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस