महासमिति बैठकअघि नैनसिंह महरले थाले जनताको मत सर्वेक्षण « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

महासमिति बैठकअघि नैनसिंह महरले थाले जनताको मत सर्वेक्षण


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्वेक्षण थालेका छन् । जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई अघि सार्ने बताए ।

उनले नीति महाधिवेशनमा उठाउनुपर्ने विषयबारे गुगल फर्मको माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग सुझाव मागेका हुन् । नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए ।

‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ । हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ। पार्टीले नै यो काम गर्नुपर्‍यो । तर, ढिलो भैसककेकाले कसैन कसैले त गर्नै पर्ने भयो । त्यसैले मैले यो व्यवस्था गरेको हुँ । म क्रियाशील सदस्य, शुभेच्छुक र जनताबाट प्राप्त सुझावलाई नै नीति महाधिवेशनमा उठाउने छु,’ उनले भने ।

महरले विद्यमान राजनीतिक व्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईँलाई कस्तो लाग्छ रु, व्यवस्थाप्रति नै नकारात्मकता देखिनुको कारण के होला ? लगायत उनले १८ वटा प्रश्नमा सुझाव माग गरेका छन् ।

केन्द्रीय सदस्य महरले काँग्रेस निर्वाचन जित्नमात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस