सूचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने निर्णय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सूचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने निर्णय


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । सूचीकृत कम्पनीले ‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूलाई ‘लकिङ’ रहेको सेयरको ‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि सूचना जारी गरेर सबैलाई जानकारी गराउन निर्देशन दिएको छ ।

गत शुक्रबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले उक्त निर्देशन जारी गर्ने निर्णय गरेको र कम्पनीहरूलाई निर्देशन जारी गर्न बाँकी रहेको बताइएको छ । सूचीकृत कम्पनीहरूमा वास्तविक क्षेत्र र हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर जारी गरेको निश्चित समयपछि मात्रै संस्थापक लगानीकर्ताको सेयरको ‘लकइन’ अवधि सकिएर साधारणसरह कारोबार गर्न सकिने व्यवस्था छ । साथै उद्योग तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय लगायतलाई जारी गरेको सेयर पनि निश्चित समयसम्म ‘लकइन’ हुन्छ । उक्त ‘लकइन’ सकिएपछि दोस्रो बजारमा एकै पटक धेरै सेयर सप्लाई आउँदा कम्पनीको सेयर मूल्यमा ठूलो उतारचढाव देखिने गरेको छ ।

सूचीकृत कम्पनीको लकइन अवधि सकिएको जानकारी नहुँदा एकै पटक कम्पनीको सेयरमा ठूलो सप्लाई आउँदा आम लगानीकर्तालाई जानकारी नहुने र सेयर मूल्यमा समेत प्रभाव पर्ने देखिएको भन्दै ‘लकइन खुल्नु अगाडि नै सूचना प्रकाशित गर्नुपर्ने निर्णय भएको जनाइएको छ ।

उक्त सूचना नेप्से र सीडीएस एण्ड क्लियरिङले पनि आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था बोर्डले गर्न लागेको छ । बोर्डले सम्बन्धित कम्पनीले नै उक्त सूचना प्रकाशित गर्न निर्देशन दिने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस