वर्षमान पुनको दाबी : एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वर्षमान पुनको दाबी : एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छ


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद-बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन्।

आज शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्ने गरी ठूलो आर्थिक चलखेल भएको बताएका हुन्।  

सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने भन्दै उनले बदमासी पुष्टि हुने आधार सरकारसँग रहेको बताए। पुनले आफ्ना पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने जनाए। 

‘सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप-२८ को सिलसिलामा देशबाहिर थिए। आउने बित्तिकै सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नेमा सहमत गराए।भोलिपल्टै मन्त्रिपरिषद् उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ’, उनले भने, ‘यो तहको राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा सरकारको साथमा छ।’ पुनले एनसेल प्रकरणमा कर छली गरी राज्यलाई ठगी तथा देशविरुद्धको काम गरिएको प्रथम दृष्टिमै प्रस्ट हुने गरी तथ्यहरू बाहिरिएको स्पष्ट गरे। 

वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको चन्दै उनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियान त्यसको ज्वलन्त उदाहरण भएको बताए। अघिल्ला प्रकरणमा जस्तै एनसेल प्रकरणमा पनि सरकारले दृढतापूर्वक काम गर्ने र दोषी कारबाहीमा पर्ने उनको भनाइ थियो। पुनले केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा समेत सरकार रहेको जानकारी दिए।  

Tags :
प्रतिक्रिया दिनुहोस