आन्तरिक राजस्व विभागले भन्यो : स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आन्तरिक राजस्व विभागले भन्यो : स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो ।

एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । स्वदेशी उत्पादन अभिवृद्धि गर्न भ्याटको व्यवस्था गरिएको भन्दै विभागले आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको छ ।

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने ब्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ विभागले विज्ञप्तिमा भनेको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए । नेपालमा भारतबाट प्याज र बङ्गलादेशबाट आलु आयात हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस