भारतलाई बिजुली बेचेर प्राधिकरणले कमायो १५ अर्ब २४ करोड रुपैयाँ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतलाई बिजुली बेचेर प्राधिकरणले कमायो १५ अर्ब २४ करोड रुपैयाँ


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । यस वर्षको वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएको जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि मङ्सिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक अधिकतम ७ सय मेगावाटसम्म बिजुली निर्यात गरेको थियो । निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०–८१को साउनदेखि मङ्सिरमा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट बिजुली निर्यात भएको छ । निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुक्खायाम शुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्न शुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट बिजुली आयात शुरु भएको छ । आज शुक्रवार रातिदेखि बिजुली निर्यात बन्द हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा बिजुलीको अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा बिजुली आयात शुरु गरिएको बताए ।

उनले चैत र वैशाखमा बिजुली आयातको परिणाम केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए ।

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । यसैगरी असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र मङ्सिर २९ गतेसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ बिजुली निर्यात गरी आम्दानी भएको छ ।

प्राधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै १ सय १० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको थियो । एनभीएनले त्यो बिजुली हरियाणा राज्यमा बिक्री गरेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५ सय २२ मेगावाट मध्येबाट पहिलो चरणमा झन्डै ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५ सय ४७ मेगावाट र एनभीभीएनलाई १ सय १० गरी ६ सय ५७ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस