१० ठूला बैंकको सम्पत्तिको पुनर्मूल्यांकन गर्ने तयारी  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

१० ठूला बैंकको सम्पत्तिको पुनर्मूल्यांकन गर्ने तयारी 


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सन् २०२४ को अप्रिलबाट नेपालका १० वटा ठूला बैंकको सम्पत्तिको पुनर्मूल्यांकन हुने (पोर्टफोलियो रिभ्यु) सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तार कर्जा सुविधा (ईसीएफ) लिँदा नेपाल सरकारले गरेको प्रतिबद्धताअनुरूप ठूला बैंकहरुको सम्पत्तिको पुनर्मूल्यांकन हुन लागेको हो ।

कोभिडपछि अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि आईएमएफले नेपाललाई ईसीएफअन्तर्गत ३७ करोड ६५ लाख अमेरिकी डलर (करिब ५० अर्ब रुपैयाँ) ऋण दिँदैछ । त्यही ऋणको तेस्रो किस्ता उपलब्ध गराउँदै उसले नेपालका ठूला १० बैंकको कर्जा पोर्टफोलियो रिभ्युको पहिलो चरणको काम यही आर्थिक वर्षमा सुरु  हुने जानकारी दिएको हो ।

आईएमएफले बिहीबार जारी गरेको रिपोर्ट अनुसार २०२३ को अन्तिमसम्म राष्ट्र बैंकले उक्त पोर्टफोलियो रिभ्युको लागि कार्यादेश तयार गर्नेछ । २०२४ को अप्रिलबाट उक्त प्रक्रिया अगाडि बढ्ने र २०२४ को जुलाई मध्य (चालु आवको असार मसान्त)सम्म तथ्याङ्क सङ्कलन गर्ने कार्य हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । २०२४ को डिसेम्बरसम्म रोडम्याप तयार हुने र २०२५ सम्ममा सम्पन्न गर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय विज्ञहरू मार्फत १० वटा ठूला बैंकको सम्पत्तिको गुणस्तर कर्जा तथा लगानी प्रणालीको सुधारको लागि रिभ्यु गर्न लागेको हो । नेपालमा बैंकिङ प्रणालीबाट उच्च कर्जा विस्तार हुने तर त्यसले अर्थतन्त्रमा योगदान कम दिने समस्या देखिएको छैन । सोही कारण बैंकहरुको सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने सर्त अन्तर्राष्ट्रिय मुद्रा कोषले राखेको थियो ।

आईएमएफले राष्ट्र बैंकले सुरु गर्ने १० वटा ठूला बैंकको कर्जा प्रणालीको सुधार र सम्पत्तिको वर्गीकरणको महत्त्वपूर्ण चरण भएको भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएको छ । यसले कर्जा प्रणालीमा महत्त्वपूर्ण सुधार गर्ने आईएमएफले बताएको छ ।

आईएमएफले मौद्रिक नीतिको अहिलेको सतर्कतालाई निरन्तरता दिनुपर्ने पनि बताएको छ । ‘मूल्य र बाह्य क्षेत्रको स्थायित्वका लागि मौद्रिक नीतिले अहिले लिएको सतर्कता कायम राख्नुपर्छ,’ आईएमएफले भनेको छ ।

आईएमएफले वित्त नीतिलाई पनि क्रमशः सबल बनाउँदै लैजानुपर्ने बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस