मुगुमा स्वास्थ्य बिमाका सेवाग्राहीलाई ४ वर्षपछि बल्ल उपचार सेवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुगुमा स्वास्थ्य बिमाका सेवाग्राहीलाई ४ वर्षपछि बल्ल उपचार सेवा


२० मंसिर २०८०, बुधबार


मुगु । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको चार वर्षपछि मुगुका बिमितले बल्ल सेवा पाएका छन् ।

२०७६ वैशाखबाट स्वास्थ्य बिमा कार्यक्रमको कार्यालय स्थापनासँगै सदस्य बनाउन सुरु भए पनि जिल्ला अस्पतालमा दक्ष जनशक्ति अभाव थियो । ठिनीस्थित अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था भएसँगै बिमितहरुले उपचार सेवा पाउन सहज भएको हो ।

संविधानको धारा ५१(ज) मा नागरिकको आधारभूत आवश्यकता सम्बन्धी नीतिअन्तर्गत स्वास्थ्य बीमा सुनिश्चित गर्दै उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । यही मर्मअनुसार स्वास्थ्य बिमा कार्यक्रम सुरु भए पनि उपचार सेवा सहज बनाउन सरकारले ध्यान दिन ढिला गरेको हो ।

‘स्वास्थ्य बिमा गरेको ३ वर्ष भएको थियो । मुगु अस्पतालबाट स्वास्थ्य बिमामा छुट नदिँदा कार्ड भएर पनि पैसा खेर गएको थियो । बल्ल जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु भयो,’ बिमीत मुगुमकार्मारोङ-३ का ठिल्ले लामाले भने, ‘ढिलै भए पनि सेवा सुरु हुँदा खुसी लागेको छ ।’

दक्ष जनशक्ति व्यवस्थापनपछि दिनको १०-१५ जना बिमितले सेवा पाउन सुरु भएको जिल्ला अस्पतालका चिकित्सक कमल ढुंगानाले जानकारी दिए । उनले भने ‘कार्यक्रम लागू भए पनि निर्देशिकाअनुसार सेवा सुरु गर्न केही समय लाग्यो ।’

स्वास्थ्य बिमा कार्यालय मुगुका दर्ता अधिकारी हरिनन्द्र रोकायाका अनुसार आवश्यक जनशक्ति अभावमा सेवा सुरु हुन सकेको थिएन । ‘कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरेर जनशक्ति व्यवस्था गरेपछि स्वास्थ्य बिमाको उपचार सेवा सुरु गरेका हौँ,’ उनले भने ।

मुगु जिल्लामा ७ हजार ४ सय ६२ जनाले स्वास्थ्य बिमा गरेका छन । वर्षमा ३५ सय तिर्दा ५ जनाको एक घरपरिवारले एक लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस