सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक, समाधानका उपाय खोज्नैपर्छ : प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक, समाधानका उपाय खोज्नैपर्छ : प्रधानमन्त्री


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन् ।

बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए ।

आफूले पहिलो पटक सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले समस्या समाधानका उपाय खोज्नैपर्ने पनि बताए ।

‘मैले पहिलो चोटि सचिवहरूलाई निर्देशन दिँदैगर्दा जुन ठोस रूपमा प्रस्तुत गर्ने कोसिस गरिएको थियो । त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भने जसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ र यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले २०७९ पुस २९ गते सरकारका सचिवहरूसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए । आफूले दिएको सोही निर्देशन स्मरण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस