ईमेज बचत तथा ऋण सहकारीका कार्यवाहक अध्यक्ष जेल चलान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ईमेज बचत तथा ऋण सहकारीका कार्यवाहक अध्यक्ष जेल चलान


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । ईमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारलाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सहकारीका कार्यवाहक अध्यक्ष परियारलाई बागलुङ प्रहरीले शुक्रबार पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।

मङ्गलवार बागलुङ अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले कार्यवाहक अध्यक्ष परियारलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी सम्बन्धी (सहकारी ऐन, २०७४ अन्तर्गतको) कसुर मुद्दामा उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी गरिएको थियो ।

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने फरार छन् । सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस