कोशी प्रदेश सभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोशी प्रदेश सभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत


१९ मंसिर २०८०, मंगलबार


विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् ।

बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ । उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेस्वरी पौडेल समर्थक थिए ।

शून्य समय

प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिना पछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पुर्‍याउन माग गरे । प्रदेश सभा सदस्य गोम्बु शेर्पाले सभामुखविहीन प्रदेश सभामा सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराए भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गरे ।

प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

सभामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रबारे जानकारी दिएका थिए । प्रदेश सभाको अर्को बैठक भोलि अपराह्न १ बजे हुनेछ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस