वीर अस्पतालका निर्देशकविरुद्ध उजुरी, कारबाही गर्न पत्राचार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीर अस्पतालका निर्देशकविरुद्ध उजुरी, कारबाही गर्न पत्राचार


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगले उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउँदै आवश्यक कारबाही गर्न भनेको छ ।

आयोगले ७ मंसिरमा स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा पौडेल एमालेमा क्रियाशील रहेको र उक्त पार्टीको जनसङ्गठनको महासचिव रहेको भनी उजुरी आएको उल्लेख गरिएको छ । पत्रमा अगाडि भनिएको छ, ‘निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको ब्यहोरा अनुरोध छ ।’

पौडेल एमालेको पार्टी सदस्य र सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको भन्दै निर्वाचन आयोगमा गत असारमा उजुरी परेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले पनि गत कात्तिक १ गते डा. सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको छ । पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) को व्यवस्था विपरीत भएको केन्द्रको भनाइ छ । स्वास्थ्य सेवा ऐनको उक्त दफामा कार्यालय प्रमुख भएको र आठौँ तह भन्दा माथिको व्यक्ति ट्रेड युनियनमा आबद्ध हुन नपाउने व्यवस्था छ । निर्देशक पौडेल स्वास्थ्य सेवाका दसौँ तहका कर्मचारी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस