भूकम्प प्रभावित क्षेत्रमा १४ जना इन्जिनियर पठाउँदै सहरी विकाश मन्त्रालय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भूकम्प प्रभावित क्षेत्रमा १४ जना इन्जिनियर पठाउँदै सहरी विकाश मन्त्रालय


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा इन्जिनियर पठाउने भएको छ ।

मन्त्रीस्तरीय निर्णयमार्फत मन्त्रालयले तत्कालका लागि अस्थायी आवास बनाउन १४ जना इन्जिनियर पठाउन लागेको हो । त्यसका लागि पहिला स्थानीय तहलाई अस्थायी आवास निर्माणमा सरकारले पैसा उपलब्ध गराउनुपर्नेछ ।

अस्थायी आवास निर्माणका लागि सरकारले यसअघि नै ५० हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ । अहिले त्यहाँ जाने इन्जिनियरलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ ।

सुरुमा अस्थायी आवास कस्तो बनाउने भनेर सिकाउँछन् । त्यसपछि भूकम्पप्रतिरोधी घर बनाउनेबारे भूकम्प प्रभावित पालिकाका सबै इन्जिनियरलाई प्रशिक्षित गर्ने बताइएको छ । पछि पालिकाले त्यहीअनुसार प्राविधिक परिचालन गर्ने जनाइएको छ । भूकम्प प्रभावित जिल्लामा जाने १७ जना इन्जिनियरको नाम भए पनि अहिले १४ जना मात्र पठाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको भनाई छ ।

मन्त्रिपरिषद् निर्णयमा सहरी विकासले अस्थायी आवास निर्माणका लागि सम्बन्धित पालिकाका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने भनिएकाले त्यहीअनुसार सहयोग गरिने उनको भनाइ छ ।

आयोजना कार्यान्वयन इकाईका अनुसार पालिकामा रकम गएपछि लाभग्राहीसँग सम्झौता गरेर बैंक खातामा पठाएपछि जस्तापाता किनेर अस्थायी टहरा निर्माणको काम अघि बढाइने छ। अहिले जाजरकोट र रुकुम पश्चिममा इन्जिनियर पठाइनेछ । त्यसमा पनि बढी प्रभावित भएका पालिकामा प्राविधिक पुग्नेछन् । दुई जिल्लाका पालिका भेरी, नलगाढ, छेडागाड, कुसे, बारेकोट, जुनीचाँदे, शिवालय, आठबिसकोट, सानीभेरी, चौरजहारी र त्रिवेणीमा बढी घर क्षति भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस