दलहरूसँग राजनीतिक एजेण्डाको खडेरी हुँदा प्रतिगामी शक्ति सलबलाए : घनश्याम भुसाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दलहरूसँग राजनीतिक एजेण्डाको खडेरी हुँदा प्रतिगामी शक्ति सलबलाए : घनश्याम भुसाल


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलहरूसँग राजनीतिक एजेण्डाको खडेरी हुँदा प्रतिगामी शक्ति सलबलाएको बताएका छन् । उनले लोकतन्त्रमा राजनीतिक दलहरू एजेन्डामा हिँड्नुपर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरूले टाउको उठाउने अवस्था आएको बताए ।

गृह जिल्ला रुपन्देही पुगेका महासचिव भुसालले बुधबार बुटवलका पार्टीका अगुवा नेता कार्यकर्तासँगको भेटघाटमा राजनैतिक सङ्कट गहिरिँदै गएको सुनाए । नेता भुसालले संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय पुँजीको विकास, कृषि उत्पादनको प्रवर्द्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद विघटन गर्नुले मुलुकमा राजनैतिक रूपमा सङ्कट गहिरिन थालेको टिप्पणी गरे ।

‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद विघटन गरेर जनताको मुद्दा छोड्ने र राजनीति बिगार्ने काम भयो’, महासचिव भुसालले भने, ‘जसको परिणाम आज न विचार, न सिद्धान्त न कुनै उद्देश्य रहेका विचारविहीनहरूले हल्ला मच्चाइरहेका छन् ।’

व्यवसायी दुर्गा प्रसाईँजस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सृजना हुनुमा राजनैतिक दलहरूमा एजेन्डा नहुन मुख्य कारण रहेको उनको भनाइ छ । उनले अब मुलुकलाई अगाडि बढाउन एकीकृत समाजवादी पार्टीले अघि सारेको राष्ट्रिय पुँजीको विकास गर्दै रोजगारी सृजना गरी सुशासन र समृद्धितर्फ जानुपर्ने उत्तम विकल्प भएको सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस