सीमित ओभरको क्रिकेटबाट कोहलीले लिए ब्रेक, रोहित पनि टी-२० नखेल्ने मुडमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सीमित ओभरको क्रिकेटबाट कोहलीले लिए ब्रेक, रोहित पनि टी-२० नखेल्ने मुडमा


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनल हारेपछि भारतीय ब्याट्सम्यान बिराट कोहली निराश देखिएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनी अब लामै समय सीमित ओभरको क्रिकेटमा देखिने छैनन् ।

बिराटले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई आफू अनिश्चितकालसम्म ५० ओभर र २० ओभरको क्रिकेट खेल्न नसक्ने जनाउ दिएका छन् । यद्यपि, उनले सीमित ओभरको क्रिकेटबाट सन्न्यास नै लिने मुड भने नबनाएको समाचारमा जनाइएको छ ।

बिराटले एक दिवसीय विश्वकपमा सर्वाधिक रन बनाएका थिए । तर, फाइनलमा भारतलाई जिताउन असफल भए । उक्त हारपछि उनी अहिले परिवारसँग समय बिताइरहेका छन् । भारतले अहिले अस्ट्रेलियाविरुद्ध खेलिरहेको टी-२० सिरिजमा उनी सहभागी छैनन् ।

बिराटले अब दक्षिण अफ्रिकाविरुद्ध भारतले खेल्ने एक दिवसीय र टी-२० सिरिज नखेल्ने बीसीसीआइ स्रोतले बताएको छ । उनी अब टेस्ट क्रिकेटमा केन्द्रित हुन चाहन्छन् । दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृङ्खलामा उनी उपलब्ध हुनेछन् ।

विराटसँगै भारतीय राष्ट्रिय टिमका कप्तान रोहित शर्मा पनि सीमित ओभरको क्रिकेटबाट टाढिन सक्ने चर्चाहरू हुन थालेका छन् । बिराट र रोहित दुवैले एक वर्षअघि टी-२० विश्वकप खेलेदेखि कुनै पनि टी-२० म्याच खेलेका छैनन् । अर्को वर्ष हुने टी-२० विश्वकपमा उनीहरूले खेल्छन् वा खेल्दैनन् भन्ने निधो छैन । उमेरले पनि उनीहरू अवकाशको नजिक पुगिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस