महानगरको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महानगरको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट


१२ मंसिर २०८०, मंगलबार


भरतपुर । भरतपुर महानगरपालिका न्यायिक समितिले सोह्र महिनामा ४७ मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ४१ र चालु आवको हालसम्म छ वटा मुद्दा फर्छ्योट गरेको हो । फर्छ्योट गरिएकामध्ये कतिपय मिलापत्र गरेर टुङ्गिएका छन् भने केही मुद्दा अदालत पुगेका छन् ।

अघि आव २०७८/७९ बाट जिम्मेवारी सरी आएका मुद्दासहित गत आवमा ५५ वटा मुद्दा दर्ता भएका थिए । यस आवमा अघिल्लो आवबाट १४ वटा मुद्दा सरी आएका थिए । महानगरपालिका सहायक निरीक्षक कृष्ण सापकोटाका अनुसार गत आव चितवन अदालतमा चार वटा मुद्दा पठाइएको थियो । अदालत गएकामध्ये घर बहालसम्बन्धी एक र बाटो र जग्गासम्बन्धी तीन मुद्दा छन् । न्यायिक समितिले जिउनी हकसम्बन्धी एक मुद्दा पुनरावेदन गएको जनाएको छ ।

यस्तै चालु आवको चार महिनामा १५ वटा मुद्दा दर्ता भएको सापकोटाले बताए । उनले जग्गा विवाद, घर बहाल र लेनदेनसम्बन्धी मुद्दा धेरै आउने गरेको जानकारी दिए । महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) र (२) बमोजिम मुद्दा दर्ता गर्दै आएको छ । ऐनबमोजिम आवश्यक कागजात हेरेर मुद्दा दर्ता गर्ने गरिएको सापकोटाले बताए । 

महानगरपालिकाको न्यायिक समितिको पहिलो प्राथमिकता मिलापत्र हुने भन्दै सबै वडामा मेलमिलाप समितिले ठाडो उजुरीमा काम गरिरहेको उनले बताए । महानगरपालिकाले सेवाग्राहीलाई रु एक सयमा न्यायिक सेवा लिन सकिने व्यवस्था गरेको छ  । 

Tags :
प्रतिक्रिया दिनुहोस