मंसिर २७ देखि सुर्तीजन्य वस्तु बिक्री र प्रयोगमा पूर्ण निषेध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मंसिर २७ देखि सुर्तीजन्य वस्तु बिक्री र प्रयोगमा पूर्ण निषेध


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मङ्गलवार स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ ।

सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ, भनिएको छ ।

‘हामी स्वस्थ सहर निर्माणको अभियानमा छौँ । २९ औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पु¥याउने सुर्तीजन्य बस्तुको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।’ स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्नुहुन्छ, ‘काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ ।

ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सुर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।’

ऐनले सार्वजनिक स्थलहरूको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस