जतिसुकै ठूलो होस्,भ्रष्टाचारी हो भने कारबाही हुनुपर्छ : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जतिसुकै ठूलो होस्,भ्रष्टाचारी हो भने कारबाही हुनुपर्छ : गगन थापा


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै ठूलो मान्छे भए पनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुने बताएका छन् । उनले मुलुकमा बढ्दो भ्रष्टाचारका कारण नागरिकहरू प्रमुख राजनीतिक दलका नेता र दलहरूसँग रिसाएको धारणा राखेका हुन् ।

सोमबार नवलपुरमा काँग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले लोकतन्त्र जनताले बोल्न र विरोध गर्न पाउने व्यवस्था भएको दाबी गरे । थापाले ०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गरिनुपर्ने बताए ।

‘कसैले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भने सम्पत्ति खोसिनुपर्छ र दण्डित हुनुपर्छ भनेर काँग्रेसले भन्न सक्ने कि नसक्ने ? बकाइदा भन्न सक्नुपर्छ, नागरिकले खोजेको यही हो, ‘उनले भने ।

उनले लोकतन्त्रमा मात्रै लोकतान्त्रिक व्यवस्थाको समेत विरोध गर्न पाइने बताए ।

उनले देशमा अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्छ भनेर विश्वास जगाउन सक्नुपर्ने बताए । ‘कोही मानिसले राज्यको ढुकुटीको पैसा ठगी गर्छ भने त्यसलाई जमिनमुनि गए पनि भ्रष्टाचारीलाई नछाड्ने कानुन बनाउनुपर्नेछ । अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्न सक्नुपर्छ, ‘उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस