सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी सांसदद्वारा एक वर्षको प्रगति सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी सांसदद्वारा एक वर्षको प्रगति सार्वजनिक


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । सिन्धुपाल्चोकबाट संघीय संसद् र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् ।

गत वर्ष मङ्सिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा (सुबोध), बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल (शरद), सरल सहयात्री पौडेल र समानुपातिकतर्फ निर्वाचित अमृता नेपालले चौतारामा पत्रकार सम्मेलन गरी उपलब्धि एवं कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

संघीय सांसद सापकोटाले जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै निर्वाचित गराउने मतदातालाई स्मरण गरेका छन् ।

निर्वाचनका बेला जारी गरिएको प्रतिबद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरिएको बताउँदै उनले संघीय संसद्का ९३ बैठक मध्ये ८१ बैठकमा उपस्थित भएको जुन ८७ प्रतिशत उपस्थिति रहेको उनले सुनाए ।

पूर्वाधार विकास समितिको सदस्यका रूपमा सक्रिय सहभागी रहेको स्मरण गर्दै विधेयकहरूमा संशोधन गरिएको जानकारी दिए ।

निर्वाचन क्षेत्रका विषयमा २०७२ को भूकम्पपछि बन्द जस्तै रहेको प्रमुख व्यापारिक तातोपानी नाका पूर्ववत् सुचारु गर्ने विषय, जुरे पहिरो प्रभावितको रकम निकासा गरी नगदै वितरणको विषय, ओरेन्ट म्याग्नेसाइटको पुनः सञ्चालन वा अन्य व्यवस्थापनको विषय, सीमा नाका सम्म पुग्ने तातोपानी क्षेत्रको सडक स्तरोन्नतिको विषय, बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट बालीनाली जोगाउने उपायबारे संसदमा सरकारको ध्यानाकर्षण गराएको बताए।

काठमाडौँ पूर्वका १३ जिल्लाका लागि काठमाडौँको जडीबुटीबाटै बसपार्क व्यवस्थाका लागि ध्यानाकर्षण गराएको, विपद् पूर्व तयारी एवं विपद् व्यवस्थापनका विषय सदनमा उठाएको उनले जानकारी दिए ।

राष्ट्रिय मुद्दाका रूपमा संसदमा चीनसँगको तातोपानी नाका पूर्ववत् सुचारु गर्ने, लिपिङ क्षेत्रको बजारीकरणबारे सरकारको ध्यानाकर्षण गराएको, नेपालका युवाहरूले भोग्नु परेको पीडा, बेरोजगारी, युवाहरू रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता, नेपाल वृद्धाहरूको देश बन्ने खतरा रहेको तथ्याङ्क सहित संसदमा युवाहरूको विषयको उठान गरेको, नियमावलीमा ढ्यापढ्यापेको समयको सट्टा आकस्मिक समयका लागि नियमावली संशोधन गर्न पहल गरेको र नियमावलीमा सोही अनुसारको व्यवस्था सहित संशोधन भएको उनले बताए ।

आधुनिक प्रविधि र एपमार्फत संसद् सञ्चालन गर्न ध्यानाकर्षण एवं एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समयमै पारित गर्न विशेष ध्यानाकर्षण, संक्रमणकालीन विषयमा नेपालबाट सन्देश दिन सकिने विषय प्रस्तुत गरेको, सबैखाले विपद्को पूर्व तयारीका सम्बन्धमा ध्यानाकर्षण गराएको, भुटानी शरणार्थीको मुद्दालाई स्वार्थमा जोडेर राजनीति नगर्न आग्रह गरिएको देशका संवैधानिक अङ्ग र निकायहरू रिटायर्ड क्लबहरूजस्ता भएको विषयमा गम्भीर बन्न राज्यको ध्यानाकर्षण गराएको सुनाए।

जुगल गाउँपालिकाको रत्नराज्यमाविलाई केन्द्रीय विद्यालय बनाउन पहल गरिएको, रुग्ण उद्योगका रूपमा रहेको ओरेयन्ट म्याग्नेसाइटबारे विभिन्न विकल्पमा छलफल भइरहेको सापकोटाले जानकारी दिए ।

निर्वाचित भएको १५ दिन मै गुम्बा गाउँमा बत्ती बाल्न पहल लिएको स्मरण गर्दै सांसद सापकोटाले ७ महिना भित्रमा तेम्बाथानमा बत्ती बल्ने अवस्था रहेको बताए । गुम्बाको नेसम खोलामम्म मोटरबाटो पुगेको र अर्को वर्षबाट तेम्बाथानसम्म मोटर चढेर जान सकिने गरी काम भइरहेको उनको भनाई थियो ।

उनले जुगल गाउँपालिकामा सम्भाव्यताको आधारमा जडीबुटी प्रशोधन केन्द्रको स्थापनाको काम अगाडि बढाइएको जुगल हिमशृङखला अन्तर्गतका थप हिमालका चुचुराहरू आरोहणका लागि खुला गर्न नेतृत्वदायी भूमिका खेलेको र सुकुटेलाई पर्यटकीय विकासका लागि चौतारा साँगाचोकगढी नगरपालिकासँगको समन्वयमा कार्य अघि बढेको जानकारी दिए ।

उनले सांसदका रूपमा विभिन्न अमेरिका, भारत र बङ्गलादेशमा भएका भ्रमण एवं नेपाली प्रतिनिधि मण्डलको तर्फबाट सम्बोधन गरेको विषयमा बताएका थिए । आफू निर्वाचन क्षेत्रका ५४ वटै वडाहरूमा कुनै न कुनै कार्यक्रम लिएर पुगेको उनले जानकारी दिए । जनतासँग सांसद कार्यक्रमको बाह्रबिसेको घोरथलीबाट सुरु गरिएको उनले कार्यक्रममा बताए ।

एक वर्षको उपलब्धि सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जनप्रतिनिधि दुलालले जनसेवाको काम गर्ने, जनताको दुख सुखमा जनप्रतिनिधि, सरकारबाट नीति निर्माणको काममा ध्यान दिइएको बताए । ठूला योजना दिनेश राम्जी बहु प्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न, चौतारा टुंडिखेलमा निर्माणाधीन रंगशालाको रोकिएको का सुचारु, चौतारा मेलम्ची सडकको स्तरोन्नति र कालोपत्रको काम अघि बढेको सुनाए ।

उनले निर्वाचन क्षेत्रका मुख्य योजना, मझौला योजनाहरूमा बजेट विनियोजन भई काम भइरहेको जानकारी दिए । निर्वाचन क्षेत्रका २४ वटै वटा समेटिने गरी पूर्वाधार विकास, विद्यालय बस जस्ता कार्य अघि बढाइएको उनले सुनाए । प्रदेशको बजेट कटौतीका बाबजुद प्रदेशका कार्यक्रमहरू एकीकृत ढङ्गले अघि बढाउन लागिएको उनको भनाइ छ । प्रदेश सभाले नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपामा पारित गरिएको विषय समेत यस अवधिको उपलब्धि रहेको दुलालले जानकारी दिए ।

१५ बेडको चौतारा अस्पताललाई ५० बेडको बनाउने लगायतका महत्त्वपूर्ण कार्य भएको, बागमती प्रदेशमा विद्युतीय ट्याक्सी सञ्चालनको अनुमति प्रदान गरिएको काम समेत उनले सार्वजनिक गरे ।

मन्त्री दुलालले चुनावमा आफूलाई जिताउने मतदाता, उम्मेदवार बनाउने पार्टीलाई धन्यवाद ज्ञापन गर्दै सहित, घाइते, अपाङ्गता भएका र बेपत्ता योद्धाहरूलाई स्मरण गर्दै काम गरिरहेको सुनाए । बागमती प्रदेश सभामा विपद् व्यवस्थाको विषयमा विशेष समय लिएर सम्बोधन गरेको, रासायनिक मल अभावका कारण किसानले भोग्नु परेको समस्यामा ध्यानाकर्षण गराएकोमा दुवै विषयको सम्बोधन भएको सुनाए ।

उनले मुख्यमन्त्रीको उपस्थितिमा सिन्धुपाल्चोकमा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको र एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको बताए । माओवादीले भ्रष्टाचार गर्नु भनेको सहिको मासु लुछेर खानु सरह भएको विषय संसदमा सम्बोधन गरेको सांसद सहयात्रीले स्मरण गरे । उनले चुनावी अभियानका बिचमा गरिएका प्रतिबद्धता पूरा गर्न लागिपरेको स्पष्ट गरे । पत्रकार सम्मेलनमा उनले आगामी वर्षहरूमा बाँकी प्रतिबद्धता पुरा गरिने बाचा समेत गरेका थिए ।

कार्यक्रममा सांसद नेपालले बागमती प्रदेश सभामा, सम्बन्धित समितिमा र निर्वाचन क्षेत्रमा खेलेको भूमिकाको चर्चा गरिन् । उनले गृहिणी महिलाहरूको श्रमको सम्मान, श्रमको मूल्य निर्धारण आयआर्जन र सीपसँग जोड्नुपर्ने विषय उठाएको स्मरण गर्दै सो विषय कार्यान्वयन गर्न गृहिणी महिलासँग प्रदेश सरकार कार्यक्रम पारित भई कार्यान्वयनको चरणमा रहेको बताइन् ।

उनले संसदमा युवाका विषयलाई जोड दिइएको र काम गरिखाने वर्गका विषयमा आवाज उठाइरहने जानकारी गराइन् ।

चारै जना जनप्रतिनिधिले यो अवधिमा पार्टी सम्बद्ध कार्यहरूमा सहभागी भएको विषयमा पनि जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस