गैँडा मारेको घटना छानबिन गर्न समिति गठन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गैँडा मारेको घटना छानबिन गर्न समिति गठन


२ मंसिर २०८०, शनिबार


चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन् ।

उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगत रूपमा काम सुरु गर्ने बताए । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उनले बताए । आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषय समेत समावेश गरी प्रतिवेदन तयार गरिनेछ । राष्ट्रिय निकुञ्जमा दुई एकसिंहे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति गठन गरिएको हो । गएको बिहीबार गैँडा मृतावस्थामा भेटिएको थियो ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोलानजिकै ६ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा भेटिएको थियो । ६ वर्षे गैँडा तीन र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ । उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानबिनको माग गरिएको थियो । नेपाली काँग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेको थियो ।संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानबिनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ र नेपालभर ७५२ गैँडा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस