‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’


२ मंसिर २०८०, शनिबार


महेन्द्रनगर । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् ।  

शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।

“जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ”, मन्त्री साउदले भने, “सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्र मन्त्रीसित पनि आग्रह गरिएको छ ।” साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उनको भनाइ छ ।

“बन्धक रहेका जोशीलाई छुटाउन आज बिहान मात्रै कतारका राजदूतसित छलफल भएको छ”, मन्त्री साउदले भने, “हमासको आक्रमणबाट सुदूरपश्चिमले बढी क्षति ब्यहोरेको अवस्था छ ।” कूटनीतिक पहल गरेर छुटाउने प्रक्रियामा रहेको बताउँदै उनले विश्वस्त रहन सबैलाई आग्रहसमेत गरे । मन्त्री साउदले शनिबार बिहान जोशीका बुबा-आमा र दाजुसित भेटसमेत गरेका थिए ।

फरक प्रसङ्गमा मन्त्री साउदले विकासमा राजनीतिक गर्न नहुने बताए । “सबैको उद्देश्य जनताको विकासकै लागि राजनीति हो”, उनले भने, “विकासमा राजनीतिक दल, वल्लोपल्लो नभनी सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ ।”

त्यसै गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लामो समयदेखि मुआब्जाको पर्खाइमा रहेका पीडितको समस्या समाधान हुने गरी सरकारले अन्तिम अधिकार सम्पन्न अर्धन्यायिक आयोग गठन गर्ने तयारीमा रहेको बताए । “अबको एक हप्ताभित्र एक जना पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन हुँदैछ”, उनले भने, “वास्तविक पीडितलाई सकभर जग्गा नै नभए मुआब्जा रकम उपलब्ध गराउने गरी अन्तिम आयोग बन्दैछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस