गैँडा मारेको घटना छानबिन गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गैँडा मारेको घटना छानबिन गर्न माग


२ मंसिर २०८०, शनिबार


चितवन । नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको घटनाको छानबिन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।

“गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ”, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । गैँडा तस्करले दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शङ्कास्पद घटनाको रूपमा लिएको विज्ञप्तिमा भनिएको छ ।

“योजनाबद्ध रूपबाट गल, गैँची र कोदालोजस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैँडालाई धरापमा पारिएको घटना नियोजित पूर्ण छ”, विज्ञप्तिमा उल्लेख छ ।

दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थानको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख छ । सशस्त्र द्वन्द्वकालमा भएका गैँडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाति संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस