भारतबाट छठका लागि ४ करोडको केरा आयात « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतबाट छठका लागि ४ करोडको केरा आयात


१ मंसिर २०८०, शुक्रबार


धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रू पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भने, “यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।”

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ”, उनले भने ।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उनले जानकारी दिए । बजारमा प्रत्येक केराको घरीलाई रू पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस