बाबुराम भट्टराई नेतृत्वको नेसपाले बोलायो केन्द्रिय समितिको बैठक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाबुराम भट्टराई नेतृत्वको नेसपाले बोलायो केन्द्रिय समितिको बैठक


३० कार्तिक २०८०, बिहिबार


काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकको एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय रहेको महासचिव रमेश यादवले जानकारी दिए । यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने उनले बताए । 

‘बैठक ६ र ७ गते बस्छ । बैठकले एकीकरणसम्बन्धी माओवादी केन्द्रले पठाएको पत्र र समायोजन कार्यदल गठनबारे निर्णय गर्छ । यसको अतिरिक्त जारी अभियान, सङ्गठन विस्तार, सुदृढीकरण सम्बन्धमा निर्णय गर्छ’, यादवले भने । 

यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताए । यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।

सहअध्यक्ष गङ्गानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीमा एक जना थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय गरेको थियो । माओवादीले पठाएको पत्रलाई लिएर नेसपाभित्र अध्यक्षद्वय भट्टराई र यादवबिच विवाद छ । भट्टराई तत्काल पार्टी एकता गर्ने पक्षमा देखिएको छैन भने यादव पूर्व सहमतिबाट पछि हट्न नहुने पक्षमा देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस