स्वास्थमन्त्री बस्नेतद्वारा नगर अस्पतालको शिलान्यास « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थमन्त्री बस्नेतद्वारा नगर अस्पतालको शिलान्यास


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गरेका छन् ।

नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बताए। आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री बस्नेतले सरकारी अस्पतालको दश प्रतिशत शय्या निःशुल्क बनाइएको जानकारी दिँदै छ महिनाभित्र नेपालका सबै सरकारी अस्पतालमा स्वास्थ्य कर्मचारीको अभाव अन्त्य गरिने बताए।

नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइबाले शिलान्यास भवन एक वर्षभित्र तयार गरी सेवा दिन थाल्ने बताए । कान्छो नगरपालिका भएर पनि आफ्नो स्वास्थ्य भवन निर्माण गर्न थालेकामा सबै स्थानीयवासीका लागि खुसीको कुरा भएको बताए ।

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अस्पतालको लागि दक्ष डाक्टर र उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन सङ्घीय सरकारलाई अनुरोध गरे । उनले उपलब्ध बजेट रु. २३ करोड भएको भए पनि रु. २२ करोड ८६ लाखमा भवन बनाउन ठेक्का दिइएको बताएका थिए । मन्त्री बस्नेतले आजै नव निर्मित चण्डेनी स्वास्थचौकी भवन उद्घाटनसमेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस