चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’ को टिजर रिलिज भएको छ । नेपाली चलचित्रको इतिहासमा सम्भवतः पहिलो पटक प्रि–प्रडक्शनमा रहँदा नै यसरी टिजर रिलिज भएको हो ।

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’ का निर्माता तथा ‘प्रेम गीत ३’ का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् ।

टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिङ’ भनेका छन् । टिजर रिलिज गरिए पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने खुलाइएको छैन । दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे खुलाइने निर्देशक सेनले बताए ।

सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युगजनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान चलचित्र हुनेछ भन्ने अनुमान गर्न मुस्किल पर्दैन ।

एक मिनेट १४ सेकेन्ड लामो दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ ।

देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए । ‘समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ गर्दा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा बलिदानमा चित्रण गर्दैछौँ । अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युग पुरुष कसरी जन्माउँछ भन्ने विषयवस्तुमा हामीले चलचित्र बनाउने छौँ । त्यसकै आधारमा टिजर तयार पारी सार्वजनिक गरेका हौँ’, सेनले भने ।

यो चलचित्रलाई ‘एक सार्वभौम महाकथा’ भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन प्रा. लि. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरी लगायत छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवं साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’ का रूपमा मनोज पण्डित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस