काठमाडौँ । तिहारको समयमा फूल आयातको विषयलाई लिएर सरोकारवाला निकाय बिचको विवाद सतहमा आएको छ । फूल आयातका सन्दर्भमा प्रदेश सरकार र संघीय सरकारका निकाय बिच विवाद भएको हो । विवाद सतहमा आएपछि दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
बागमती प्रदेशस्थित पुष्प विकास केन्द्रले स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने जनाउँदै अर्को निर्णय नभएसम्मका लागि कार्तिक १ गतेबाट सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको जानकारी गरायो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूल तथा माला आयातका लागि अनुमति दिएको विषय बाहिरिए पछि दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका हुन् ।
यो वर्ष नेपाली उत्पादनले आन्तरिक बजार धान्न सक्ने देखिएकाले नेपाली कृषकको उत्पादन खेर नजाओस् र बजार सुनिश्चित होस् भन्नका लागि कार्तिक १ देखि फूल आयातका लागि सिफारिस दिन बन्द गरिएको पुष्प विकास केन्द्रले जनाएको छ । केन्द्रले सिफारिस दिन बन्द गरे पनि विषादी व्यवस्थापन केन्द्रको अनुमतिमा सयपत्री माला भारतबाट आयात भएको आरोप लागेको छ । स्वदेशी उत्पादनले पुग्ने अवस्था हुँदाहुँदै केही व्यापारी पोस्ने गरी सयपत्री माला आयातमा अनुमति दिएको आरोप विषादी व्यवस्थापन केन्द्रमाथि लागेको हो ।
आरोप लागेसँगै विवाद छताछुल्ल भएपछि विषादी व्यवस्थापन केन्द्र्रले बिहीबार विज्ञप्ति निकालेर पुष्प विकास केन्द्रबाट सिफारिस गरिएका ४८ वटा प्रवेश अनुमतिपत्र निलम्बन गरेको जनाएको छ । केन्द्रका प्रमुख सावित्री बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिदेखि गत १ (एक) महिनाको तथ्याङ्क हेर्दा पुष्प विकास केन्द्र, गोदावरीबाट दिइएको प्रवेश अनुमति सिफारिसका आधारमा ५८ वटा प्रवेश अनुमति पत्र जारी भइ कुल ३ लाख २ हजार ३ सय ३६ के.जी. सयपत्री फुलको छोड पुर्जी जारी भएको देखिन्छ । यसै बिच पुष्प विकास केन्द्रबाट प्रदान गरिएको एकमुष्ट सिफारिस भइ पटक पटक प्रयोग गरी प्रवेश अनुमतिपत्रहरु माग गरिएका ४८ वटा प्रवेश अनुमतिपत्रहरु निलम्बन गरिएको छ ।’
तिहार पर्व लक्षित पैठारी भइरहेको पुष्पजन्य उपजको सम्बन्धमा भ्रामक समाचारहरू आएको भन्दै विषादी व्यवस्थापन केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पुष्प विकास केन्द्रको सूचनामा भनिएको छ , ‘बिरुवा तथा वनस्पति सम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लाण्ट क्वारेनटाइन कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र आयात गर्नुपर्ने कानुनी व्यवस्था तथा पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसको आधारमा मात्र प्रवेश इजाजत पत्र जारी गर्ने व्यवस्था रहेको सर्वविदितै छ ।’ पुष्पजन्य सामग्री आयात गर्दा विषादी व्यवस्थापन केन्द्रले परामर्श नगरेको भन्दै पुष्प विकास केन्द्रले असहमति जनाएको हो । तर, विषादी व्यवस्थापन केन्द्रले भने पुष्प विकास केन्द्रले दिएकै सिफारिसका आधारमा सयपत्री माला आयात भएको जनाएको छ । त्यसो त तिहारको समयमा सयपत्री फूल तथा माला आयातका लागि स्वीकृति दिएको विषय बाहिरिएपछि नेपाल फ्लोरिकल्चर एसोसिएसनले पनि असन्तुष्टि जनाएको छ ।
यस्तो छ केन्द्रको विज्ञप्ति


समन्वय र परामर्शको अभाव
पुष्प विकास केन्द्रको सिफारिसको आधारमा प्लाण्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रले पुष्पजन्य बस्तुको आयात परमिट जारी गर्ने भन्ने एउटा भद्र सहमति छ । त्यही अनुरूप विगतका वर्षमा फूल तथा माला आयात हुने गरेको थियो ।
दुवैको समझदारीमा गत वर्ष पनि सयपत्री माला, गुलाब लगायत पुष्पजन्य सामग्री आयातका लागि इजाजत पत्र जारी भएको थियो । तर, यस वर्ष नेपाली उत्पादनले आन्तरिक बजार धान्न सक्ने देखिएकाले नेपाली कृषकको उत्पादन खेर नजाओस् र बजार सुनिश्चित होस् भन्नका लागि कार्तिक १ गतेदेखि नै सिफारिस दिने रोकेको बागमती प्रदेश स्थित पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले बताए । श्रेष्ठले भने ‘पुष्प विकास केन्द्रको सिफारिस स्वीकार गर्ने÷नगर्ने अधिकार विषादी व्यवस्थापन केन्द्रलाई छ ।’
मुलुकमा सङ्घीयता लागू हुनु पूर्व नै पुष्प विकास केन्द्रले सिफारिस गर्दै आएको उनले जानकारी दिए । ‘विकास केन्द्रले सङ्घीयता पछि पनि विगतको काम यथावत राख्ने सहमति भएको थियो । यही निर्णयको आधारमा काम हुँदै आएको हो,’ श्रेष्ठले भने । सयपत्री मालामा सयपत्रीको बीउ पनि हुने हुनाले केन्द्रले सिफारिस दिँदै आएको थियो । उनले भने, ‘प्लाण्ट क्वारेनटाइनले आयात मात्र होइन आयात हुने बस्तुसँग रोग र किरा पनि नेपाल नभित्रिउन् भन्ने म्यान्डेट बोकेको संस्था हो ।’
प्लाण्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी (वरिष्ठ बाली संरक्षण अधिकृत) महेशचन्द्र आचार्यका अनुसार बिरुवा तथा बिरुवाजन्य वस्तुको अनुमति दिने आधिकारिक निकाय विषादी व्यवस्थापन केन्द्र हो ।
बिरुवा क्वारेनटाइन तथा संरक्षण ऐनको कार्यान्वयन गर्ने जिम्मेवारी पनि केन्द्रको भएको उनले बताए । ‘त्यो जिम्मेवारी अन्तर्गत प्रक्रिया पुगेर आएको र राज्यले निषेध नगरेको वस्तु आयातका लागि अनुमति दिनुपर्ने हुन्छ र दिएका छौँ,’ उनले भने, ‘भारतबाट आउने पुष्पजन्य बस्तुलाई निरुत्साहित गर्न केन्द्र लागि रहेको छ । तर, यसमा केन्द्रलाई मात्र दोषी देखाउनु भन्दा पनि राज्यले नै पोलिसी बनाएर अघि बढ्नु पर्छ ।’
बिउँ र बिरुवा ल्याउँदा पुष्प विकास केन्द्रको सिफारिसमा मात्र ल्याउन अनुमति दिने भन्ने निर्णय कार्यान्वयन भइ रहेको आचार्यले बताए । उनले भने, ‘हाम्रो फूल फुल्यो अब आयात बन्द गरिदेऊ, हाम्रो फूल सकियो अब आयात खोलिदेऊ भन्ने जुन पुष्प व्यवसायीको धारणा छ, यो कार्यान्वयन गर्न सकिँदैन ।’
भित्रिएका मालाले फूल नबिक्ला कि भन्ने चिन्ता !
तिहारको मुखमा सरकारले ४ लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको पाइएको छ । जसमध्ये ३ लाख २ हजार किलो बढी माला आयात भइसकेको छ ।
नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यो वर्ष व्यावसायिक रूपमा फूल खेती बढी भएको र तिहार पनि पछि परेका कारण आन्तरिक उत्पादनले मागको ८० प्रतिशत धान्न सक्ने अनुमान थियो । उनले भने, ‘१५ देखि २० प्रतिशत भारतीय मालाको बजार हुन्छ भन्ने हाम्रो अनुमान थियो । हामीले अनुमान गरे भन्दा बढी भारतीय माला भित्रिएको सूचना पाएका छौँ ।’
श्रेष्ठका अनुसार ३ लाख २ हजार किलो माला भित्रिएको भए १५ लाख माला हुन आउँछ । एउटा मालाको ५० रुपैयाँ मात्र परे पनि ७ करोड ५० हजारको माला भित्रिइसकेको उनले बताए ।
फूलको आन्तरिक उत्पादन र आयात/निर्यात बारे फ्लोरिकल्चर एशोसिएसन लगायत सरोकारवाला निकायसँग परामर्श नगरेकै कारण समस्या आएको उनको भनाइ छ । ‘पुष्प विकास केन्द्र र विषादी व्यवस्थापन केन्द्र बिच समन्वय नहुँदा समस्या आएको हो । तर, मारमा नेपाली पुष्प कृषक नै परेका छन् । यो स्थिति जारी रह्यो भने पुष्प व्यवसाय धराशायी हुन्छ, लगानीको वातावरण बन्दैन र कृषक पलायन हुन्छन्,’ तामाङले भने ।
नेपालमा ४८ जिल्लामा फूल खेती भइरहेको छ । १ हजार १ सय १६ जना व्यवसायी छन् । ४४ हजार जनाले रोजगारी पाएका छन् । अघिल्लो वर्षको तथ्याङ्क हेर्ने हो भने ३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ । ३३ करोड रुपैयाँ बराबरको आयात भएको छ । ६८ लाख रुपैयाँको निर्यात भएको छ ।
फूल टिप्न र बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएका कृषक तथा व्यवसायी तिहारको मुखमा भारतबाट सयपत्रीका माला भित्रिएको सुने पछि चिन्तित छन् ।
आयातित माला रोक्ने स्थानीय सरकारको प्रयास
फूलका माला आयातका विषयमा सङ्घ र प्रदेश बिच विवाद भइरहँदा स्थानीय सरकार भने आयातित माला रोक्न लागि परेका छन् । तिहारमा प्लास्टिक फूलको प्रयोगलाई कडाइ गर्न स्थानीय सरकारहरू लागि परेका हुन् ।
दाङका चार स्थानीय तहले फूलको माला प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै उनीहरूले प्लास्टिक फूलको आयातलाई प्रतिबन्ध लगाएका छन् । लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले फूल खेतीमा संलग्न स्थानीय किसानलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहन गर्न यस्तो निर्णय गरेको जनाएका छन् ।
प्लास्टिकका मालाको आयात रोक्न पोखरा महानगरपालिका, चितवनको रत्ननगर नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र बर्दगोरिया गाउँपालिका पनि लागि परेका छन् । यसैगरी गोरखामा जिल्ला समन्वय समिति बैठकले जिल्लाका ११ वटा स्थानीय तहमा प्लास्टिकका माला प्रयोग गर्न नपाइने निर्णय गरेको छ ।
सरकारले गत साउन १२ मा राजपत्रमा सूचना प्रकाशन गरी प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणलाई पूर्ण रूपमा रोक लगाएको छ । प्लास्टिकका फूलमाला तथा सामग्री बिक्री वितरण गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।