चिसोसँगै सुरु भयो भक्काको मौसम « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चिसोसँगै सुरु भयो भक्काको मौसम


२४ कार्तिक २०८०, शुक्रबार


विराटनगर । चिसो बिहानी होस् वा साँझ तराईका चोकहरूमा मौलिक खान्की देखा पर्छ- भक्का । खास गरी राजवंशी समुदायका महिलाहरूले यो परिकार बनाएर बिक्री गरिरहेका हुन्छन् । अचेल अरू समुदायले पनि सिको गर्न थालेका छन् ।

सामान्यतया: जाडो महिना लागेसँगै तराईका गाउँ, ठाउँ र सहरहरूमा पनि देखिने यो खाजालाई स्वास्थ्यबर्द्धक मानिन्छ । अचेल अरू मौसममा पनि कतैकतै देखिन थालेको छ । चिसो मौसममा तात्तातो भक्काको स्वादका पारखी चोकहरूतिर भक्का बनाएर बेच्ने स्थानमा झुम्मिरहेका हुन्छन् ।

चिसो मौसम सुरु हुनासाथ खाजाका रूपमा भक्काले आकर्षित गर्ने गरेको पारखी विराटनगर ४ की देवी गुरागाईँ बताउँछिन् । ‘चिसो मौसममा अचारसँग तात्तातो भक्का खानुको आनन्द विशेष छ’ उनले भनिन् ।

तराईका जिल्लाहरूमा यो लोकप्रिय खाजा हो । अचले भने यो मौलिक परिकार काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरूसम्म विस्तार भइसकेको छ ।

यति मात्र होइन, संसारका विभिन्न मुलुकमा पुगेका नेपालीहरू, अझ तराईका बासिन्दाले आयोजना गर्ने उत्सव र कार्यक्रमहरूमा पनि यसले स्थान पाउन थालिसकेको छ ।

भक्का मूलतः राजवंशी समुदायको मौलिक सांस्कृतिक खानेकुरा हो । राजवंशीहरूले प्रत्येक वर्ष झापामा यसलाई ‘भक्का दिवस’ को रूपमा मनाएर अझ परिचित गराउने गरेका छन् ।

‘कोचिला गाभुर फन्ट’ को अग्रसरतामा यो दिवस २०७४ सालदेखि मनाउन थालिएको हो । दिवस मनाउने क्रममा झापाको बिर्तामोडमा राजवंशी कला संस्कृति झल्काउन समुदायका प्रतिनिधिहरू सांस्कृतिक पहिरनका साथ भेला हुने गरेका छन् ।

मंसिर महिना लागेसँगै घर गाउँमा नयाँ चामल भित्र्याइन्छ । भक्का विभिन्न जातका चामलको पिठोबाट बनाइन्छ । वासमती चामलको बनाउँदा मगमग बासना आउने गरेको राजवंशी समुदायका सदस्य बताउँछन् ।

राजवंशी समुदायमा भक्का बनाउने चलन सुरु भएदेखि छरछिमेकलाई निम्तो गरेर रमाइलो गर्दै खाने चलन पनि सुरु भएको हो ।

कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्व छ । जाडो मौसममा राजवंशी समुदायमा छोरी-चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने चलन छ । छोरी-चेलीलाई चिसो छल्न हप्ता-दस दिनका लागि माइत बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाएर खुसी बनाएर घर पठाउने चलन रहेको विराटनगर, कन्यामार्गकी महाबती राजवंशी बताउँछिन् ।

भक्का खाजाको रूपमा पनि, खानाको रूपमा पनि खान सकिन्छ । भक्का खाँदा कसले धेरै खान सक्छ भन्दै प्रतिस्पर्धासमेत हुने गरेको राजवंशी समुदायका अगुवा बताउँछन् ।

सजिलोसँग बुझ्नका लागि भक्का भनेको बफ्याइएको चामलको पिठोको परिकार हो । यो स्वादिष्ट मात्र होइन स्वास्थ्यबर्द्धक पनि हुन्छ । झापाका राजवंशी समुदायले छोरीको बिहेमा कोसेलीस्वरुप मिठाई पठाउने चलन छ । त्यसमा भक्काको परिकार अनिवार्यजस्तै हुन्छ । पूर्वका कतिपय स्थानमा व्यावसायिक रूपमा भक्का पसल पनि सञ्चालन हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस