अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित


२३ कार्तिक २०८०, बिहिबार


पोखरा । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन् ।

अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरूमा खुसी छाएको हो । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो ।

व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले दिएको रिट निवेदनउपर भएको बहसपछि न्यायाधीश भट्टराईले यस्तो आदेश दिएका हुन् । आदेशमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू भनिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले लामो समयदेखि पर्यटन व्यवसायीले उठाएको आवाजको सम्बोधन भएको प्रतिक्रिया दिए । “हामी निकै आजित भइसकेका थियौँ, पटक पटक प्रहरी प्रशासन, राज्य संयन्त्रलाई यसबारे जानकारी गराउँदै आएका थियौँ । आज बल्ल माग सम्बोधन भएको छ । अब कार्यान्वयनको पर्खाइमा छौँ ।” प्रहरीले १० बज्न नपाउँदै सिठी लगाएर होटेल रेष्टुराँ बन्द गर्न आउने गरेका कारण खाना खाँदै गरेका पाहुना मुखामुख गर्नुपर्ने स्थिति सिर्जना हुने गरेको थियो ।

“अदालतको आदेशले अब राहत मिलेको छ”, अध्यक्ष श्रेष्ठले भने । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै यहाँको पूर्वाधार विकासलाई पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षासहित पर्यटनमैत्री वातावरणका लागि राज्यले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान)पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले उच्च अदालतको आदेश व्यवसायी र पर्यटकमैत्री भएको बताए । “यो आदेश स्वागतयोग्य छ, लेकसाइडमा आउने पर्यटक आनन्दले घुम्ने तथा मनोरञ्जन लिन चाहन्छन्, यसअघि उनीहरूलाई बाधा पुगेको थियो”, उनले भने । अदालतको आदेशलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेर पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न तीनै तहका सरकारले चासो र प्राथमिकता दिनुपर्ने अध्यक्ष पौडेलले बताए ।

यसैगरी होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अदालतको आदेशले व्यवसायीको मनोबल बढाएको बताए । “व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा लगानी गरेका छौँ । तर राज्य पर्यटनमैत्री बन्न नसक्दा जोखिम बढिरहेको छ, यो आदेशले उत्साह थपिएको छ”, उनले भने । आदेशपछि तालको सुन्दरतासँगै लेकसाइड आसपासका रात्रीकालिन दृश्यसहित मनोरञ्जन लिनबाट अब पोखरा आउने पर्यटक वञ्चित हुनु नपर्ने अध्यक्ष सुवेदीको भनाइ छ ।

पर्यटन बहुआयामिक क्षेत्रसँग जोडिएको हुनाले हरेक पक्षबाट पर्यटकको सहजतासहितको आतिथ्यताको खाँचो हुने भएकाले सम्बन्धित निकाय जिम्मेवार भएर यो क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने उनले बताए । गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस