निक्षेपकर्तालाई जाहेरी दिन अनुरोध « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निक्षेपकर्तालाई जाहेरी दिन अनुरोध


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन अनुरोध गरेको छ ।

प्रहरीले उजुरी दिनका लागि भोलीसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरूको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेको भए जाहेरी दिन बचतकर्तासमक्ष अनुरोध गरिएको जानकारी दिए ।

उनका अनुसार उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु. ५० करोड बिगो बराबरको रकम हिनामिना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनले बताए ।

निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको उनले बताए ।

उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी ब्युरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उनले भोलि कात्तिक २४ गतेभित्र सम्पर्कमा आई जाहेरी दिन पनि सिआइपीले अनुरोध गरेको बताए ।

सिआइबीका प्रहरी उपरीक्षक अधिकारीले भने, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्युरोमा रीतपूर्वकको जाहेरी दिनुहुन अनुरोध छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस