न्यायको प्रतीक्षामा रामआशिष « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्यायको प्रतीक्षामा रामआशिष


२२ कार्तिक २०८०, बुधबार


जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका-४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुन् । उनी दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश भएका हुन् ।

दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम-१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आएका छन् ।

विसं २०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठिकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उनले अप्रत्यासित घटना सामना गर्नुपर्‍यो । राति ९ बजेको समयमा उनी फिल्मी शैलीमा कुटपिट र लुटपाटमा परे । सो रात दाससँग भएको रु. एक लाख ५१ हजार नगद लुटपाट भयो । साथै उनलाई १५-२० वटा कागजको पानामा औँठा छाप लगाइयो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर उद्धार गर्‍यो ।

“राति ९ बजेको थियो, म पसल बन्द गरेर घर जाँदै थिए, नकाबधारी समूहले फिल्मी शैलीमा सडकमै कुटपिट गरी नगद लुटपाट गरे”, दासले भने, “नकाबधारीले पेस्तोल, फलामे रड र लट्ठी बोकेका थिए । मैले राम विलास दास र इन्द्र दासलाई मात्र ठम्याउन सके । उनीहरूले रोडभन्दा दुई सय मिटर जति उत्तरतर्फ खेतमा लगेर लुटपाट र कुटपिट गरे । कागजमा मेरो औँठा छाप लगाएर भागे । यो सबै घटना प्रहरीलाई थाहा छ ।”

घटना भएको छ महिना पूरा हुँदैछ । अहिलेसम्म दासको जाहेरी दर्ता भएको छैन । लुटपाटको भोलिपल्ट अर्थात् गत वैशाख २६ गते कपिलेश्वर प्रहरी चौकी र वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे जाहेरी दर्ता गराउन पुगे पनि पहिले घटनाबारे बुझ्छौँ अनि दर्ता गरौँला भनेर त्यहाँबाट फर्काइएको दासले बताए ।

मङ्गलबार पत्रकार सम्मेलन गरी दासले गुनासो गरे, “मेरो जाहेरीको विषयमा प्रहरीसित पटक-पटक जानकारी लिन खोजेँ । तर बुझ्दै छौँ भनेर आलटाल गर्ने गरेका छन् । गत साउन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकिल कार्यालयलाई निवेदन दिएको छु । सो कार्यालयको चलानी नं ३२१ पत्रसहित हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी पठाएको थिएँ । तर कुनै सुनुवाइ भएको छैन ।”

करिब २० वटा कागजमा औँठा छाप लगाइएकामा एउटा कागज भने मिटरब्याजी शैलीमा रकम लिएको भनेर सार्वजनिक भएपछि आफू जालसाझीको सिकार भएको र त्यो विषय जानकारी गराउँदा पनि प्रहरीले सहयोग नगरेको दासको गुनासो छ । सार्वजनिक भएको सो कागजमा घटना घटेको छ वर्ष पुरानो मिति राखेर अर्थात् विसं २०७४ माघ १४ गते दासले महोत्तरीको लोहरपट्टी–५ का ४२ वर्षीय अशोककुमार ठाकुरबाट सयकडा १० प्रतिशत ब्याजमा रु बीस लाख ऋण लिएको उल्लेख छ ।

“बीसवटा कागजमा औँठा छाप गरिएकामा एउटा मात्र सार्वजनिक भएको छ । त्यसपछि म निकै विक्षिप्त छु, बाँकी कागज सार्वजनिक हुन बाँकी नै छन्”, दासले भने, “साहु भनिएका ठाकुरले ऋण असुलउपर गरिपाउ भनी कानुनी उपचारमा गएको जानकारी पाएको छु । अब भोलिपर्सी अरु कागज पनि आउलान् । म प्रधानाध्यापकबाट अवकाश पाएको व्यक्ति, यति ठूलो रकम कहिल्यै कसैसँग ऋण लिएको छैन । वृद्धावस्थामा दुःख पाए । कारण बुझ्न प्रहरीलाई गुहारेको थिएँ । तर न्याय पाइनँ । अब हदम्यादभित्रै अदालत जान्छु ।”

Tags :
प्रतिक्रिया दिनुहोस