काठमाडौँ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस २०२३ विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ ।
“जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नाराका साथ प्रतिष्ठानले यही कार्तिक १८ गते देखि साताव्यापी कार्यक्रम सुरु गरेको हो । मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी) को सचेतनाका लागि सञ्चालित सो कार्यक्रम २५ गतेसम्म चल्ने छ ।
अन्तराष्ट्रिय मधुमेह सङ्घका अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुन सक्छ भने कम आयश्रोत भएका राष्ट्रहरूमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्दछ । विश्वभरका २० देखी ७९ वर्ष उमेर समूहका १०.५५ वयस्क जनसङ्ख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसङ्ख्या मात्र यसबारे जानकार रहेको पाइन्छ ।
सङ्घका अनुसार मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टु मधुमेह हुने गरेको र त्यसमा सामाजिक(आर्थिक, जनसङ्ख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाइन्छ । मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्दछ । मधुमेहका असरहरूमा अन्धोपन, हृदय रोग, मिर्गौला रोग, खुट्टा काट्नुपर्ने सम्मको अवस्था र मधुमेह अनियन्त्रित भएको खण्डमा असामयिक निधन समेत हुन सक्दछ ।
त्यस्तै, गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिन्छ । मधुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पुऱ्याउन जरुरी छ । प्रशस्त पानी, सागसब्जी, फलफूल तथा अन्य पौष्टिक आहार सेवनका साथै शारीरिक व्यायाम गरी मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । आँखारोग विशेषज्ञहरूका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी)वाट बच्न समयमै आँखा परीक्षण गराई दृष्टिविहीन हुनबाट जोगिन सकिन्छ । नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जीवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ ।
मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धी जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस’ मनाउँदै आएको छ भने विगत १७ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दै आएको छ ।
वर्ष २०२३ का कार्यक्रमहरूमा अस्पतालले कार्तिक १९ गतेदेखी २५ गतेसम्म मधुमेह भएका बिरामीहरूलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ भने विपन्न बिरामीहरूलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ । कार्तिक २५ गते शनिवारका दिन बिहान ८ बजे ‘वल्क विथ योर डक्टर’ सन्देश सहित मधुमेह भएका व्यक्तिहरू, चिकित्सक र अस्पतालको कर्मचारी सहित र्याली अस्पतालबाट पशुपति, गौरीघाट हुँदै अस्पतालमै टुङ्गिने छ ।
त्यस्तै, बिरामी सचेतनाका लागी अस्पताल भित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरू प्रेषित गरिएको छ ।डायबेटिक रेटिनोप्याथीको सचेतनाका लागि यस्ता छन् तिलगंगाका साताव्यापी कार्यक्रम