‘टाइम आउट’ हुने विश्वकै पहिलो ब्याट्सम्यान बने एञ्जेलो म्याथुज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘टाइम आउट’ हुने विश्वकै पहिलो ब्याट्सम्यान बने एञ्जेलो म्याथुज


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । श्रीलङ्काका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।

विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौँ नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।

२४.२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि म्याथुज ब्याटिङमा आएका थिए । तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अलमलिएका उनले नयाँ हेलमेटका लागि ड्रेसिङ रुममा संकेत गरेका थिए ।

त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बङ्गलादेशी कप्तान सकिब उल हसन र बङ्गलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गरे । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।

म्याथुज पुरुष तथा महिलाको कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले जनाएको छ । आइसिसी विश्वकप २०२३ को प्लेइङ कन्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले ‘टाइम आउट’ गर्ने उल्लेख रहेको आइसिसीले स्पष्ट पारेको छ ।

टाइम आउट हुने ३६ वर्षका म्याथुज श्रीलङ्काका अनुभवी अलराउण्डर हुन् । उनले श्रीलङ्काका लागि २२४ वटा ओडिआई र १०६ वटा टेस्ट खेलेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस