एकद्वार प्रणालीबाट राहत परिचालन गर्ने रुपन्देही प्रशासनको निर्णय, ढुवानीका लागि स्वीकृति लिनुपर्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एकद्वार प्रणालीबाट राहत परिचालन गर्ने रुपन्देही प्रशासनको निर्णय, ढुवानीका लागि स्वीकृति लिनुपर्ने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत र सहयोग सामग्री पठाउँदा एकद्वार प्रणालीबाट मात्र पठाउने भएको छ । राहतका नाममा विभिन्न व्यक्ति, संघसंस्था तथा समूहबाट गरिने राहत (नगद र जिन्सी) सङ्कलन कार्यलाई निरुत्साहित गरी राज्यको औपचारिक प्रणाली र संयन्त्रबाट मात्र सङ्कलन/परिचालन गर्नका लागि एकद्वार प्रणालीबाट मात्र राहत परिचालन गर्ने निर्णय भएको हो । 

आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहत र सहयोग सामग्री पठाउँदा एकद्वार प्रणालीबाट मात्र पठाउने निर्णय गर्ने रुपन्देही पहिलो जिल्ला हो । 

भूकम्पबाट प्रभावितहरूलाई पठाइने राहत सामग्री सङ्कलन तथा व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने छन् । सङ्कलित राहत सामग्री सम्बन्धित जिल्लासम्म पुर्‍याउने कार्यको संयोजन जिल्ला प्रशासन कार्यालयले गर्ने छ । 

जिल्ला प्रशासन कार्यालयको स्वीकृत बिना राहत सामग्री जिल्ला बाहिर लैजान नपाउने प्रावधानलाई सुरक्षा निकायले नियमन एवं कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनले भने, ‘राहत सङ्कलनमा विकृति देखिएको छ । जथाभाबी राहत उठाउने र राहत वितरणलाई प्रचारको सामग्री बनाउने प्रवृत्ति छ । यसलाई निरुत्साहित गर्न र राहत वितरणलाई व्यवस्थित तथा आवश्यकतामुखी बनाउनका लागि यो निर्णय गरेका हौँ ।’

स्थानीय तहको अगुवाइमा राहत सङ्कलन

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीको बैठकले भूकम्प प्रभावितका लागि स्थानीय तहको अगुवाइमा मात्र राहत सङ्कलन गर्ने निर्णय गरेको छ । व्यक्ति, संघसंस्था वा समूहले जथाभाबी राहत सङ्कलन गर्न पाउने छैनन् । 

भूकम्प पीडितको राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिको पहल र समन्वयमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाको समन्वयमा सङ्कलन भएको २ ट्रक खाद्यान्न र लत्ताकपडा आइतबार नै जाजरकोट पठाइ सकिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । उनका अनुसार क्रमशः थप राहत सामग्री पठाउने गरी प्रबन्ध मिलाइएको छ । 

बैठकले जिल्लाबाट सङ्कलन हुने र पठाउने सहयोग एवं राहत एकद्वार प्रणालीबाट मात्र गर्ने निर्णय गरेको हो । हाललाई राहत सामग्रीको रूपमा कम्मल, म्याट्रेस र लत्ताकपडा खाद्यान्न (दाल, चामल, तेल, आलु, चिनी), ड्राईफुड (चिउरा, दालमोट, बिस्कुट, चाउचाउ) सङ्कलन गर्न औपचारिक प्रणाली र संयन्त्रको व्यवस्था मिलाइएको छ । राहतका नाममा कोही कसैले मनोमानी वा बेरितपूर्वक नगद एवं जिन्सी सङ्कलन/परिचालन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने अर्यालले बताए । 

राहत सामग्री ढुवानीका लागि प्रशासनको स्वीकृति अनिवार्य

जिल्ला प्रशासन कार्यालयले स्वीकृत दिएको सवारी साधनले मात्र रुपन्देहीदेखि जाजरकोटसम्म राहत सामग्री ढुवानी गर्न सक्ने छन् । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सङ्कलित राहत सामग्री सम्बन्धित जिल्लासम्म पुर्‍याउने कार्यको संयोजन जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

भूकम्प प्रभावितहरूका लागि राहत सामग्रीहरू सम्बन्धित जिल्लामा पुर्‍याउन यातायातको व्यवस्थापन लुम्बिनी ट्रक व्यवसायी समिति र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले गर्ने भएका छन् । प्रशासन कार्यालयका अनुसार तत्कालका लागि कम्मल, म्याट्रेस, लत्ताकपडा, खाद्यान्न (दाल, चामल, तेल, नुन, चिनी, आलु), ड्राइफुड (चिउरा, दालमोट, बिस्कुट, चाउचाउ) संकलान गरी ढुवानी गरिने छ । 

आइतबार पहिलो चरणमा सियारी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा राहत सामग्री पठाइएको छ । सियारी गाउँपालिकाको सहयोगमा १०० बोरा चामल, मुसुरोको दाल १६ बोरा, चिउरा ५ बोरा, स्वाविन २० पोका १६ बोरा र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा व्लाङ्केट २०० थान, सिरक ३० थान, रेडिमेट कपडा १५ साना बोरा, चामल ३५०० के.जी र फुरनदाना ५०० के.जी. राहत सामग्री भूकम्प पीडितहरूका लागि राहत स्वरूप पठाइएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पताल तोकियो

जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरूबाट भूकम्पका घाइतेहरू उपचारार्थ रुपन्देहीमा आउन सक्ने सम्भावनालाई मध्यनजर गरी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवललाई डेडिकेटेड अस्पतालका रूपमा तोकिएको छ ।

उपचारका लागि भिम अस्पताल, भैरहवा, युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटल, भैरहवा र देवदह मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । अस्पतालहरूमा रगतको कमी हुन नदिन ब्लड बैंक र सामाजिक सङ्घ संस्थाहरूसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस