गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन


१९ कार्तिक २०८०, आइतबार


म्याग्दी । गण्डकी प्रदेशमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु गरेको कुस्मा-तल्लोमोदी-नयाँमोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएपछि गण्डकी प्रदेशमा विद्युत् प्रसारण लाइनको चक्र बन्ने र कालीगण्डकी करिडोरको वैकल्पिक हुने जनाएको छ ।

आयोजना प्रमुख रोशन अग्रवालले म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका विद्युत् आयोजनालाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन र यस क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्न प्रसारण लाइनको चक्र बनाउन लागिएको बताए ।

“कालीगण्डकी करिडोरअन्तर्गत दुई सय केभी क्षमताको दाना-खुर्कोट-न्यू बुटवल जोड्ने प्रसारण लाइन हालै निर्माण सकिएको छ, यो लाइनको कनेक्टर भरतपुर सवस्टेशनसँग हुन्छ, हामीले खुर्कोटदेखि नयाँ मोदी नयाँ लाइन बनायौँ भने खुर्कोट-न्यू बुटवल-भरतपुर-दमौली-लेखनाथ-घाचोक-नयाँमोदी विद्युत् प्रसारण लाइनको चक्र बन्छ”, उनले भने, “कालीगण्डकी करिडोरको लाइनमा समस्या आउँदा नयाँ मोदी हुँदै र मोदीको लाइनमा समस्या आउँदा खुर्कोट-न्यू बुटवलको प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराउन सकिने विकल्प हुन्छ ।”

प्रसारण लाइनको चक्र भएपछि विद्युत् आपूर्ति नियमित भई गुणस्तर सुधार हुने, आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने र आपूर्तिका कारणले विद्युत् खपत कम भई प्राधिकरणले क्षतिपूर्ति तिर्नुपर्ने समस्या हट्ने आयोजना प्रमुख अग्रवालले बताए । खुर्कोट-न्यू बुटवल लाइन निर्माण पूरा नहुँदासम्म खुर्कोटदेखि मोदी हुँदै न्यू मोदी जोड्ने सिङ्गम सर्किटको प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराउँदा म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्न सकेका थिएनन् ।

खुर्कोटदेखि मोदीसम्म छ दशमलव दुई किलोमिटर दूरीको प्रसारण लाइनको ‘सिङ्गल सर्किट’लाई ‘डबल सर्किट’को बनाउने र तल्लो मोदीदेखि नयाँ मोदी नौ किलोमिटर दूरीको डबल सर्किटको नयाँ प्रसारण लाइन बनाउने आयोजना प्रमुख अग्रवालले बताए । तल्लो मोदीदेखि नयाँ मोदी जोड्ने प्रसारण लाइनका लागि ३७ वटा टावर रहने जग्गाको मुआब्जा वितरणको तयारी गरिएको छ ।

कुस्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माणका लागि कस्मिक इलेक्ट्रिकल लिमिटेडसँग गत हप्ता रु. ३५ करोडमा ठेक्का सम्झौता भएको आयोजनाका इञ्जिनियर सुरुङ गुरुङले बताए । उनका अनुसार ठेक्काको अवधि २१ महिनाको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस