‘युवालाई गाउँमै रोजगारी दिन्छौँ’ : मुख्यमन्त्री पाण्डे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘युवालाई गाउँमै रोजगारी दिन्छौँ’ : मुख्यमन्त्री पाण्डे


१७ कार्तिक २०८०, शुक्रबार


ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवालाई गाउँमै रोजगार दिने गरी काम सुरु गरेको बताएका छन् । 

नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गाउँ छोड्दै विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले गाउँलाई विकासले जोड्नुका साथै रोजगार सृजना गर्न थालेको बताए ।

गाउँबाट बजार झर्ने र बजारबाट विदेश पलायन हुनेको क्रम डरलाग्दो हुँदै गएको भन्दै यसलाई रोक्न प्रदेश सरकार लागि रहेको उनले बताए। आफू मुख्यमन्त्री भएपछि जनताले महसुस हुने गरी काम गर्न थालेको भन्दै सरकारको काम देखेर प्रतिपक्ष अतालिन थालेको पाण्डेले बताए । प्रदेश सरकारले भुइँ मान्छेका काम, गरिब, दुःखी र सर्वहाराको काम गर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले भने, “हामीहरू सङ्घीयताको कार्यान्वयनकै चरणमा छौँ, भर्खरै ठिक बेठीक भनेर छुट्याउन समय भएको छैन, कार्यान्वयनका चरणमै जनताका समस्या बुझ्ने र जनताका आवश्यकता र मागका आधारमा विकास निर्माण भइरहेको छ, केही तत्त्वले सङ्घीयताका बारेमा प्रश्न गरी रहेका छन्, अब कोही पनि युवा विदेश पलायन हुने गरी गाउँमै रोजगार सृजना गर्छौँ, गाउँका मान्छेलाई गाउँमै रोक्न काम गर्छौँ ।”

मुख्यमन्त्री पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली काँग्रेसले ठूलो योगदान गरेको बताए । काँग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नुपर्ने भन्दै नेताहरू पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बताए । काँग्रेस जहिले पनि अनियमितता, भ्रष्टाचार र बेथितिका विरुद्धमा बोल्ने मुख्यमन्त्री पाण्डेले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस