राजनीतिक विवादले उपसचिवको बरन्डाको बास « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राजनीतिक विवादले उपसचिवको बरन्डाको बास


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । जनप्रतिनिधिहरूको विवादका कारण रौतहटको फतुवाबिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २६ मा हरिवन नगरपालिकाबाट सरुवा गरी फतुवा विजयपुरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएका उपसचिव सुरेन्द्र प्रधान २२ दिनदेखि कार्यालय बाहिर छन् ।

जनप्रतिनिधिको विवादका कारण नगरपालिकाको गेटमा लागेको ताला २२ दिनपछि कार्तिक १० गते खुले पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला अझै खुलेको छैन । नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई भ्रष्टाचारको मुद्दा लागेपछि कार्यवाहक नगर प्रमुख बनेकी उपप्रमुख अमबेय खातुन र वडाध्यक्षहरू बिचको विवादका कारण नगरपालिका अनिर्णयको बन्दी बन्न पुगेको छ । 

नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष रामेश्वर राय यादवले कार्यवाहक नगरप्रमुख कसैको कुरा सुन्ने पक्षमा नरहेको बताए । ‘आफ्नै मनोमानीमा चल्नु भएको छ । २० जना जनप्रतिनिधिमा एक जना एकातर्फ अन्य १९ जना अर्कोतर्फ छन् ।’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत आफू अनुकूलको नहुँदा विवाद भएको हो ।’ सरकारले खटाएको कर्मचारीलाई काम गर्न दिनुपर्ने उनको भनाइ छ । 

मन्त्रालयले उपसचिव प्रधानलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाए पनि जनप्रतिनिधिका कारण उनी कार्यकक्षमा प्रवेश गर्न र हाजिर गर्न पाएका छैनन् । विवादकै कारण कोष तथा लेखा नियन्त्रण कार्यालयमा खाता पनि खोलिएको छैन । जनप्रतिनिधिले वार्तापछि मात्र कार्यकक्षको ताला र खाता खोल्ने बताउँदै आएका छन् । आफू कार्यालयमा कार्तिक २ गते नै उपस्थित भएको प्रधानले जानकारी दिए ।

उनले भने, ‘सरकारले खटाएर आएको हुँ । कार्यकक्षको ताला खुले र खाता सञ्चालन भए, म काम गर्न तयार छु ।’ जनप्रतिनिधिको विवादका कारण नगर सभा हुन सकेको छैन । आर्थिक तथा प्रशासनिक काम पनि ठप्प छन् । 

प्रधान आउनुअघि शम्भु कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । केही जनप्रतिनिधिले यादवलाई र केहीले जनप्रतिनिधिले प्रधानलाई नरुचाएकै कारण कार्यकक्षको ताला नखोलिएको हो । वडाध्यक्ष यादवले भने, ‘निमित्त दिँदा र उपसचिव खटाउँदा विवाद भयो । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्नु पर्‍यो नगरपालिकालाई बन्धक बनाउनु भएन ।’

वडा नं. ११ का वडाध्यक्ष ज्ञानेन्द्र चौधरीको पनि यस्तै राय छ । ‘जनप्रतिनिधि बिचको विवादले नागरिक सेवा पाउनबाट वञ्चित हुनु राम्रो कुरा होइन ।’ उनले भने, ‘जनप्रतिनिधिहरूले निमित्त पाएका यादव र मन्त्रालयले पठाएका प्रधान दुवैलाई रुचाएनन् । अब नयाँ कर्मचारी ल्याएर भए पनि समाधान खोज्नु पर्छ ।’

प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै कार्यपालिकाका सदस्यहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि पुगेका थिए । उनीहरूले प्रधानलाई नखटाउन पनि सुझाएका थिए । तर, मन्त्रालयले उनीहरूको कुरा सुनेन । वडा नं. ९ वा वडाध्यक्ष राकेश यादवका अनुसार मन्त्रालयलाई प्रधान बाहेक अन्य कुनै कर्मचारी पठाउन भनिएको थियो । ‘प्रधान बाहेक अन्य कुनै प्रमुख प्रशासकीय अधिकृत पठाएमा फूलमालाले स्वागत गर्छौ भनेर मन्त्री र सचिवलाई भनेका हौँ । तर, कुन दबाबमा हो उहाँलाई नै पठाइयो’, यादवले भने ।

उपसचिव सुरेन्द्र प्रधान पहिले पनि एक आर्थिक वर्ष फतुवा विजयपुरमा काम गरेका थिए । त्यति बेला उनी कार्यालयमा उपस्थित नहुने, चौपुर बसेर काम गर्ने गरेका कारण जनताले दुःख पाएको आरोप लागेको छ । उनलाई मन नपराउनेहरुले यही कारण देखाएर अस्वीकार गरेको बताए । वडा नं. ९ वा वडाध्यक्ष यादवले भने, ‘प्रधान कार्यालयमा आउनु हुन्थेन, उहाँलाई खोज्न मेयर नै जानु पर्थ्यो । गौर, चन्द्रपुर, हरिवनमा पनि प्रधान कार्यालयमा नबस्ने गरेको गुनासो छ । उहाँलाई राखेर जनताका काम गराउन सकिँदैन ।’

प्रमुख प्रशासकीय अधिकृतबारे दलहरू बिच राजनीतिक खिचातानी राम्रै हुने गरेको छ । स्थानीय नेतादेखि केन्द्रका मन्त्रीसम्मको चासो सरुवामा देखिन्छ । जिल्लाका सांसदहरु प्रभु शाह र देव प्रसाद तिमल्सेना बिच पनि आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत ल्याउन कसरत भइरहेको बुझिएको छ । वडाध्यक्ष राकेश यादवले भने, ‘पालिकामा हुने कामको जस अपजस जनप्रतिनिधिले लिनुपर्ने तर, हस्तक्षेप केन्द्रीय नेताले गर्ने यो त राम्रो भएन ।’

यता मन्त्रालयका भने आफ्नै ‘धन्दा’ छन् । सबै दलहरूसँग समन्वय गरेर अघि बढ्नु पर्ने मन्त्री समस्या सुल्झाउने भन्दा बल्झाउनेतिर छिन् भने सचिवालयका अधिकारीहरू ‘बल्छी’ थापेर बसेका छन् । जसका कारण दर्जनौँ स्थानीय तह आजित छन् । कर्मचारीहरू प्रताडित छन् । तर, समस्या समाधानका लागि कहिँकतैबाट सकारात्मक पहलकदमीसमेत नहुनु विडम्बना हो । 

Tags :
प्रतिक्रिया दिनुहोस