रसुवाको भोटेकोसीमा आजदेखि गोताखोर परिचालन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रसुवाको भोटेकोसीमा आजदेखि गोताखोर परिचालन


१४ कार्तिक २०८०, मंगलबार


रसुवा । नदीमा हराई रहेका एक व्यक्तिको खोजी कार्य थप प्रभावकारी बनाउन आजबाट रसुवाको भोटेकोसी खोलामा गोताखोर परिचालन गरिएको छ ।

रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-थुमन निवासी अन्दाजी ३५/३६ वर्षका काले भनिने छिरिङ तामाङ रोङ्गा आसपास क्षेत्रको भोटेकोसी खोलामा हाम्फाली यही ८ गते बेपत्ता भएका र बाहिरी भागमा फेला नपरेपछि पानी भित्रका भागमा खोजतलास गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख सुभाष बुढाथोकीका अनुसार आजदेखि गोताखोर परिचालन गरिएको छ । मानिस एवं ड्रोन क्यामराको सहायताले घटनास्थलदेखि खोलाको तटीय क्षेत्रका बाहिरी भागमा खोज उद्धारबाट पत्ता नलागेपछि पानीभित्रका भागमा जान गोताखोर झिकाइएको हो ।

६ गते थुमनकै एक ज्येष्ठ नागरिकलाई कुटपिट गरेको आरोपमा सोधपुछका लागि थुमनबाट धुञ्चे  ल्याउने क्रममा यही ८ गते छिरिङले प्रहरीको सवारी साधनमा बस्न नमानी उहाँकै भाञ्जा नाताका दावा तामाङको मोटर साइकलमा धुञ्चेस्थित जिल्ला प्रहरी कार्यालय गएका थिए ।

थुमनबाट छुटेको केही बेरमै तार्सागाउँको केही तल मोटर साइकल  ढालेर भाग्दै भोटेकोसी खोलामा छिरिङ हाम्फालेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । गाउँ समाजको माझमा रहेको प्रहरी चौकीले जिल्लास्तरमा लाँदा पुलिसले समात्यो भन्ने नकारात्मक हल्ला फैलिने आशङ्काले निजी मोटर साइकलमा चढेको हुनसक्ने अनुमान गरिएको छ । 

मोटर साइकल चढाउने नेकपा एमाले र बेपत्ताहुने काँग्रेसको स्थानीय कार्यकर्ता भएको भन्दै नेपाली काँग्रेस रसुवाले एक विज्ञप्ति मार्फत घटनाको सत्यतथ्य छिट्टै  पत्ता लगाई सार्वजनिक गरिदिन अनुरोध गरेको छ । नेपाली काँग्रेस रसुवाले विज्ञप्ति मार्फत भनेको छ थुमन प्रहरी चौकीका इन्चार्ज रामविद्या शाह र अर्का सुरक्षाकर्मी जगतनारायण यादव समेत पछिपछि रहेको अवस्थामा घटना कसरी भयो भन्ने प्रश्न समेत गरेको छ । प्रहरीले भने आफ्ना पुरै जनशक्ति खोजउद्धारमा परिचालन गरिरहेको छ ।

उता प्रहरी प्रमुख बुढाथोकीले भने खोज उद्धारमा कुनैपनि कमी हुन नदिने बताउँदै घटनाको अनुसन्धान र खोज कार्य सम्पन्न भएपछि सत्यतथ्य बाहिर आउने, प्रमाण र अनुसन्धानले कुनै व्यक्ति दोषी देखाएमा कारबाही हुने प्रस्ट पार्दै प्रहरीलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरिएको छ ।

रसुवाको भोटेकोसी खोला गहिरो खोचका साथै बढी ढुङ्गा भएका कारण खोलामा परेको मानिस पाउने सम्भावना भने अत्यन्तै न्यून रहेको विगतका घटनाक्रमले पुष्टि गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस