तीस वर्षको अवधिमा नेपालले एक तिहाइ हिमनदी गुमायो : गुटेरेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीस वर्षको अवधिमा नेपालले एक तिहाइ हिमनदी गुमायो : गुटेरेस


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन् । नेपालको चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे उल्लेख गरेका हुन् ।

‘प्रभाव विनाशकारी छ ।पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ, ’महासचिव गुटेरेसले भने । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै ती जसरी संकुचित हुन्छन् त्यसरी नै नदीहरू बग्ने बताए ।

‘भविष्यमा सिन्धु, गङ्गा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ । नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ । यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन्,’महासचिव गुटेरेसले भने, ‘लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयङ्कर प्रतिस्पर्धा हुनेछ ।’

जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा डरलाग्दो अन्याय भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस