इजरायल-हमास युद्धबारे अमेरिकी अधिकारीहरूसँग वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इजरायल-हमास युद्धबारे अमेरिकी अधिकारीहरूसँग वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने


१२ कार्तिक २०८०, आइतबार


तेल अविव । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत गर्दै दि टाइम्स अफ इजरायलले बताएको छ ।

इजरायल-हमास युद्ध क्षेत्रीय युद्धमा परिणत हुनसक्ने आशङ्काबीच कुराकानी हुन लागेको बताइएको छ ।

साउदी विदेश मन्त्रालयको एक विज्ञप्तिमा शनिबार साउदी अरेबियाले इजरायलको कुनै पनि स्थल कारवाहीबाट प्यालेस्टिनी नागरिकहरूको जीवनलाई खतरामा पार्ने र यसले अमानवीय खतरा निम्त्याउने बताएको छ ।

एक्सियोसका अनुसार रक्षामन्त्री बिन सलमानले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान, रक्षामन्त्री लोयड अस्टिन, विदेश मन्त्री एन्टोनी ब्लिङ्कनेसहित केही सिनेटरहरूसँग कुराकानी गर्ने छन् ।

इजरायल-हमास युद्धभन्दा अघिका साताहरूमा साउदी अरबले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनका लागि अमेरिकी नेतृत्वको कूटनीतिमा प्रगति भएको बताएको थियो ।

यसै साताको सुरुमा टेलिफोन कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अमेरिकी मध्यस्थतामा कुराकानी ‘अघि बढाउन’ सहमत भएका थिए ।

अमेरिकी मध्यस्थतामा इजरायल-साउदी सम्बन्धलाई सामान्य बनाउन कुराकानी भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस