विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ


११ कार्तिक २०८०, शनिबार


चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । 

देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।  

दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरूलाई बैङ्कबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए ।

खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरू बताउँछन् । 

निजी क्षेत्रका मालिक मात्र होइन त्यहाँ कार्यरत मजदुर कर्मचारीहरूले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् । 

त्यसो त लुकी छिपी जुवातास खेल्नेहरूको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन गरेको भए पनि पेसेवर जुवाडे नभेटिएको बताउँछन् । 

उनले भने, “१५ जना समातिँदा रु. ३० हजार पनि नपाएपछि मुद्दा चलाउने अवस्था रहेन ।” उनको भनाइमा ठूलो रकम राखेर जुवातास खेल्नेहरू यो वर्ष भेटिएनन् । 

उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष राजन गौतम विगतका दसैँमा जुवातासका ठूलाठूला खाल हुने गरेको सुनेको भए पनि यस वर्ष त्यस्तो नसुनिएको बताउनुहुन्छ । 

उनले भने, “आर्थिक मन्दीका कारण दसैँ मनाउने अवस्था नरहेपछि जुवातास कसले खेल्ने ?” हुनेखाने हुँ भन्नेले पनि यसपालि राम्रो र रमाइलो गरी दसैँ मनाउन नसकेको उनी बताउँछन् । 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठ विगतको तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताउँछन् । 

यसको प्रत्यक्ष प्रभाव दसैँ पर्वमा परेको उनको भनाइ छ । उनले भने, “क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।” दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको उहाँ बताउँछन् । 

यससँगै मानिसहरूमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको उनले बताए ।

पोल्ट्री व्यवसायी ऋषि पौडेल आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउनुहुन्छ । उनले भने, “दसैँमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो ।” मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको उनले बताए । 

उनले भने, “सुरुका दिनमा जिउँदो खसी प्रतिकिलो रु. छ सयमा बिक्री भएकामा पछिल्ला दिनहरूमा रु. पाँच सयमा पनि बिक्न सकेन ।” कुखुराको खपत पनि निकै न्यून भएको उनी बताउँछन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने आर्थिक मन्दीका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउँछन् । उनले भने, “आर्थिक रूपमा कमजोर भएको अवस्थामा बजारको महङ्गीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ।” व्यावसायिक क्षेत्र धराशयी भएको र महङ्गी अस्वाभाविक बढेका कारण दसैँ प्रभावित भएको उनको बुझाइ रहेको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आफू प्रमुख हुनुअघि जस्तै गरी यस वर्ष पनि धेरैलाई दसैँ मान्न सहयोग गरे । 

उनले भने, “दसैँ कसरी मनाउनु, आम नागरिकसँग पैसा नै छैन ।” एकातर्फ आर्थिक मन्दी छ भने अर्कोतर्फ घरका छोराछोरी विदेश हुँदा ती परिवारमा दसैँको उमङ्ग नभएको उनले बताए । 

उनले भने, “संस्कृति जगेर्नाका लागि मात्र दसैँ मान्नुपर्ने अवस्था आएको देखियो ।” सबै क्षेत्र प्रभावित भएकै कारण दसैँमा उमङ्ग आउन नसकेको धेरैको भोगाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस